Logo

११ साउन,काठमाडौं । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेका छन्।

हाल भैरहवा कारागारमा थुनामा रहेका लामिछानेका पक्षमा सिंहले यस्तो समर्थन उसैबेला जनाएका हुन्, जब सर्वोच्च अदालतले रवि लामिछानेलाई तत्काल निर्दोष देखिने कुनै प्रमाण नरहेको भन्दै थुनामै राख्ने निर्णय सुनाइसकेको छ।

डा. सिंहले काठमाडौंको बनस्थलीस्थित घण्टाघर पुगेर लामिछानेप्रति ऐक्यबद्धता जनाउँदै हस्ताक्षर गरेका हुन्। सो अवसरमा उनले ठूला दलहरूकै कारण देश ३० वर्षदेखि ऋणमा डुबेको आरोप समेत लगाए।

उनले भने, “रवि लामिछाने राजनीतिमा आएको जम्मा तीन वर्ष मात्र भएको हो। तर अहिले जताततै भ्रष्टाचार मौलाएको छ। नक्कली भुटानी शरणार्थी काण्ड होस् या वाइडबडी विमान खरिद प्रकरण, यस्ता ठूला भ्रष्टाचारमा भने आजसम्म कुनै छानबिन गरिएको छैन।”

सांसद सिंहले लामिछानेविरुद्धको मुद्दामा राजनीतिक प्रेरणा रहेको आशंका पनि व्यक्त गरेका छन्। उनका अनुसार, सस्तो लोकप्रियतामा रमाउने होइन, तर सत्यको पक्षमा उभिनु अहिलेको आवश्यकता हो।

यता राष्ट्रिय स्वतन्त्र पार्टीले पनि लामिछानेप्रति समर्थन जनाउने गतिविधिहरू जारी राखिरहेको छ भने सर्वोच्चको अन्तिम निर्णय नआएसम्म कानुनी प्रक्रिया अनुसार अघि बढ्ने बताइएको छ।


सम्बन्धित समाचार