Logo

११ साउन, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) भित्रको आन्तरिक विवाद चुलिँदै जाँदा अध्यक्ष रञ्जिता श्रेष्ठले वरिष्ठ उपाध्यक्ष शिव बास्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी सुम्पेकी छिन् ।

आफू अस्वस्थ रहेको कारण देखाउँदै श्रेष्ठले पार्टीको दैनिक कार्य सञ्चालनमा बाधा नपरोस् भनी यो निर्णय लिएको बताएकी हुन् । श्रेष्ठले कार्यवाहक तोकिएको पत्रमा उल्लेख गरेअनुसार, ‘मेरो स्वास्थ्य अवस्थाका कारण पार्टीको दैनिक कार्य सञ्चालन र महत्त्वपूर्ण निर्णय प्रक्रियामा मेरो भौतिक उपस्थिति सम्भव नदेखिएकोले पार्टीको कार्यप्रवाहमा कुनै अवरोध नआओस् भन्ने उद्देश्यले यो निर्णय गरिएको छ।’

पोखरा महानगरपालिका–६ निवासी पार्टीका वरिष्ठ नेता बास्तोलालाई शुक्रबार बहुमत केन्द्रीय सदस्यहरूको बैठकले २४ घन्टाभित्र बैठक बोलाउन अल्टिमेटम दिएको केही समयपछि नै यो जिम्मेवारी दिइएको हो ।

नाउपाभित्रको बढ्दो विवाद र अध्यक्षको स्वास्थ्य समस्याका कारण उत्पन्न यो परिस्थितिमा बास्तोलाले पार्टीलाई कसरी अगाडि बढाउँछन् भन्ने चासोका साथ हेरिएको छ ।


सम्बन्धित समाचार