१६ साउन, काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईँ लगायत चार जनाको मुद्दामा उच्च अदालत, पाटनमा सुनुवाइ सुरु भएको छ।
गत चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनका क्रममा राज्यविरुद्धको कसुरमा उनीहरूलाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालतको आदेशविरुद्ध उनीहरूले उच्च अदालतमा निवेदन दिएका थिए । गत चैत १५ मा पूर्वराजाको समर्थनमा भएको प्रदर्शनमा दुर्गा प्रसाईँको नेतृत्वमा तीनकुनेमा घर आगजनी र सरकारी गाडी तोडफोड लगायतका घटनाहरू भएका थिए । सोही अभियोगमा जिल्ला अदालत, काठमाडौँले जेठ २९ गते प्रसाईँसहित ७ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।
जिल्ला अदालतको आदेशमा असहमति जनाउँदै प्रसाईँसहित सुशील बराल, डण्डपाणि रेग्मी, र सरोज गौतम (तारा राजावादी) ले उच्च अदालतमा निवेदन दिएका थिए। न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासमा सुनुवाइ चलिरहेको छ। बिहीबार सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दैमा’ राखेर शुक्रबारका लागि पेशी तोकिएको थियो।

















