१९ साउन,वीरगञ्ज । रौतहटको ईशनाथ नगरपालिका–८ मन्सरी टोलमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ। आफ्नै खेतमा सिँचाइका लागि मोटरबाट पानी लगाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका ५५ वर्षीय शेख जाफिरको उपचारका क्रममा मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी दीपक कुमार रायका अनुसार, आइतबार राति साढे ९ बजे जाफिर खेतमा जडान गरिएको मोटर सञ्चालन गर्दै गर्दा करेन्ट प्रवाह भएको तारमा छोइएर घाइते भएका थिए।
गम्भीर अवस्थामा रहेका उनलाई तत्काल गौरस्थित प्रादेशिक अस्पताल लगिएको थियो। तर राति पौने ११ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको डिएसपी रायले जानकारी दिए।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।















