१९ साउन, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डको बैठक अहिले बसिरहेको छ । सो बैठक १२ कक्षा (माध्यमिक शिक्षा परीक्षा, कक्षा १२) को नतिजा सार्वजनिक गर्नुअघि आवश्यक निर्णय गर्नका लागि बोलाइएको हो ।
बोर्डले आइतबार नतिजा सार्वजनिक गर्नुअघि ’डेमो’ प्रदर्शन समेत गरिसकेको छ । बोर्डको वार्षिक कार्यतालिका अनुसार साउन १५ भित्र १२ कक्षाको नतिजा सार्वजनिक गर्नुपर्ने थियो । तर गत २० चैतदेखि सुरु भएको शिक्षक आन्दोलनका कारण २९ दिनसम्म शैक्षिक गतिविधि प्रभावित भएको र त्यसको असरले नतिजा सार्वजनिक गर्न ढिलाइ भएको हो ।
शिक्षक आन्दोलनकै कारण गत ११ वैशाखमा हुने भनिएको परीक्षा पनि पछि सारिएको थियो । अन्ततः २१ वैशाखदेखि परीक्षा सञ्चालन गरिएको थियो ।
यस वर्षको १२ कक्षा परीक्षामा ५ लाख ११ हजार ५ सय २५ जना विद्यार्थी सहभागी भएका थिए । बोर्डको बैठकले आवश्यक निर्णय गरेलगत्तै नतिजा सार्वजनिक गरिने बताइएको छ ।















