२० साउन,वीरगञ्ज ।पर्साको पटेर्वा सुगौली गाउँपालिकामा भूमिहीन, दलित र अव्यवस्थित बसोबास गर्दै आएका नागरिकलाई जग्गा उपलब्ध गराउने उद्देश्यले मंगलबारदेखि नापजाँच कार्य औपचारिक रूपमा सुरु गरिएको छ।
पटेर्वा सुगौली–२, बेलवा टाडीमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष दिनेश चौधरी र भूमि समस्या समाधान आयोग, पर्साका अध्यक्ष तबरेज अहमदले संयुक्त रूपमा जग्गा नापजाँचको उद्घाटन गरे।
कार्यक्रममा प्रमुख अतिथि रहेका आयोग अध्यक्ष अहमदले भूमिहीन समुदायको पक्षमा आयोग सदैव प्रतिबद्ध रहेको उल्लेख गर्दै, भूमि अधिकारका लागि सामाजिक दबाब आवश्यक भएको धारणा राखे। “जबसम्म बच्चा रुदैन, तबसम्म आमाले दूध दिँदिनन्। त्यसैगरी हामीले पनि अब भूमि अधिकारका लागि दबाबमूलक कार्यक्रम गर्नुपर्छ,” उनले भने।
उनले यो नापजाँच प्रक्रियाले भूमिहीन जनताको बहुप्रतिक्षित भूमि अधिकारको ढोका खोल्ने विश्वास पनि व्यक्त गरे।
गाउँपालिका अध्यक्ष दिनेश चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष ममता महत्तो, प्रमुख प्रशासकीय अधिकृत प्राण मेहता, वडा अध्यक्ष विजय गैरे, कार्यपालिका सदस्य सजिना रसाइली, नापी अधिकृत राजकुमार बिक, आयोगका प्रशासन प्रमुख राजेन्द्र खड्का लगायतको उपस्थिति थियो।
गाउँपालिकाले अव्यवस्थित बसोबासी तथा सुकुम्बासी समस्याको समाधानका लागि यो प्रक्रिया महत्वपूर्ण कदम भएको जनाएको छ। आगामी दिनमा अन्य वडाहरूमा पनि नापजाँच विस्तार गर्ने तयारी गरिएको छ।















