Logo

२० साउन, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) भित्र अध्यक्ष पदको नेतृत्वलाई लिएर विवाद चुलिएको छ। रेशम चौधरी पक्षले रञ्जिता श्रेष्ठलाई अध्यक्ष पदबाट हटाएर लालवीर चौधरीलाई नयाँ अध्यक्ष चयन गरेको जानकारी निर्वाचन आयोगलाई गराइसकेको छ। तर, रञ्जिता श्रेष्ठले उक्त निर्णय अस्वीकार गर्दै आफू नै वैधानिक अध्यक्ष रहेको दाबी गरेकी छन्।

रेशम चौधरी पक्षले आयोजना गरेको राष्ट्रिय भेलाबाट अध्यक्षमा लालवीर चौधरीको चयन गरिएको हो। तर रञ्जिता श्रेष्ठले उक्त भेला अवैध भएको जिकिर गर्दै त्यसबाट गरिएको निर्णय कानुनी मान्यता नपाउने बताएकी छन्।

निर्वाचन आयोगमा पुगेको विवाद
रेशम पक्षले साउन १८ गते निर्वाचन आयोगमा अध्यक्ष परिवर्तनबारे जानकारी गराइसकेका छन्। सो पक्षका नेता रामलाल डगौराले भने, “हामीले आयोगलाई जानकारी गराइसकेका छौं, अब आयोगको अध्ययनपछि निर्णय आउँछ।”

त्यसैगरी, रञ्जिता श्रेष्ठ पनि आयोगको निर्णय कुरिरहेको उनका समर्थकहरूले बताएका छन्। एक नेताले भने, “अब आयोगबाट निर्णय आउँछ, त्यसपछि मात्र थप प्रतिक्रिया जनाइनेछ।”

पार्टीभित्र विवादको सुरुवात
रञ्जिता श्रेष्ठ पोखराको लिचीबारी काण्डमा मुछिएपछि पार्टीभित्र असन्तोष चुलिएको थियो। घटनापछि केन्द्रीय समिति बैठकको माग हुँदै आएको भए पनि उनले त्यसको बेवास्ता गर्दै शिव बास्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएकी थिइन्। त्यसविरुद्ध रेशम चौधरी निकट बहुमत नेताहरूले केन्द्रीय बैठक डाक्दै राष्ट्रिय भेला आयोजना गरेका थिए।

भेलाबाट अध्यक्षमा लालवीर चौधरी चयन
भेलाले रञ्जिता श्रेष्ठलाई साधारण सदस्य समेत नरहने गरी अध्यक्ष पदबाट हटाउने निर्णय गर्दै रेशम चौधरीका बुवा लालवीर चौधरीलाई अध्यक्ष चयन गरेको हो। लालवीर स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव जितेर पछि नागरिक उन्मुक्ति पार्टीमा आवद्ध भएका थिए।

पार्टीको भविष्य आयोगको निर्णयमा भर
पार्टीको नेतृत्व कसको रहने भन्ने विषय निर्वाचन आयोगको निर्णयमा भर पर्ने देखिएको छ। यसअघि पनि महाधिवेशनसम्बन्धी मुद्दा आयोग र सर्वोच्च अदालतमा विचाराधीन रहेकै अवस्थामा पुनः नेतृत्व विवाद फेरि आयोगमा पुगेको हो।


सम्बन्धित समाचार