२० साउन, काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद विराज भक्त श्रेष्ठले भिजिट भिसा प्रकरणलाई लिएर सरकारमाथि दलाल संरचनालाई ढाकछोप गर्न तल्लिन भएको आरोप लगाएका छन्।
मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै, सांसद श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएको भिजिट भिसा प्रकरण व्यक्तिगत गल्ती वा प्रशासनिक त्रुटि नभई संगठित र योजनाबद्ध भ्रष्टाचार भएको स्पष्ट दाबी गरे।
उनले भने, “यो सांगठिक भ्रष्टाचार व्यक्तिगत भूल होइन, यो साजिश सत्ता संरचनाको संरक्षणमा लुकाइएको दलाल संरचनाको कर्तुत हो।”श्रेष्ठले बारम्बार सरकारसँग उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दा पनि सरकारले त्यसलाई वेवास्ता गरेको भन्दै सरकार दोषीलाई जोगाउन मौन बसेको आरोप लगाए।
“हामी पटक–पटक भन्छौं, दोषीलाई कारबाही गर। तर सरकार मौन छ। सरकार पन्छिन खोज्दैछ। सरकार दलाल संरचनालाई ढाकछोप गर्न तल्लिन देखिन्छ,” उनले संसदमा स्पष्ट रूपमा भने।
युवाको सपना माथि प्रहार
श्रेष्ठले विदेश जाने युवाको आशा र सपनालाई भिजिट भिसा प्रकरणले ध्वस्त बनाएको बताए। “युवाहरू रोजगार र शिक्षाको खोजीमा आशाको दियो बोकेर विदेश जाने बाटो खोजिरहेका छन्। तर, त्यही बाटोमा दलाल संरचनाले ठगी र लुटपाट गर्दै छ,” उनले थपे।
छानबिन समितिप्रति असन्तुष्टि
श्रेष्ठले सरकारले बनाएको छानबिन समिति पनि “टालटुले” भएको आरोप लगाए। “अहिले बनेको समिति हाम्रो र आम नागरिकको नजरमा टालटुले हो,” उनले भने।
श्रेष्ठले दोषी जो भए पनि कडा भन्दा कडा कारबाही हुनुपर्ने माग दोहो¥याए। साथै, उनले सरकारलाई समयमै चेतावनी दिँदै भने, “भिजिट भिसा प्रकरणको जरा कहाँसम्म फैलिएको छ भन्ने प्रश्न आज हरेक नेपालीको मनमा छ।”
रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरणको निष्पक्ष छानबिन नभएसम्म संसदको बैठक बहिष्कार गर्ने चेतावनी दिँदै आएका छन्।















