Logo

२१ साउन, काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निजामती सेवा विधेयकमा भएको छेडखानी प्रकरणमा राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले नैतिक जिम्मेवारी लिँदै राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ।

हिजो बसेको पार्टी सचिवालय बैठकले संसदमा प्रतिवेदन बुझाएको संसदीय छानबिन समितिको प्रतिवेदनलाई आधार बनाउँदै खतिवडाको राजीनामाको माग गरेको हो। प्रवक्ता मनिष झाले दिएको जानकारी अनुसार प्रतिवेदनमा खतिवडाले आवश्यक समन्वय गर्न नसकेको उल्लेख गरिएको छ।

बैठकमा पार्टी विधान संशोधनको प्रस्ताव पनि उठाइएको छ। अबदेखि सरकारी सेवाबाट अवकाश प्राप्त गरेको कम्तीमा दुई वर्षसम्म कुनै व्यक्ति पार्टीको सदस्य बन्न नपाउने गरी संशोधन गर्ने प्रस्ताव आएको छ। “समय अभावका कारण हिजो छलफल हुन सकेन, आगामी बैठकमा थप छलफल गरेर निर्णय लिनेछौं,” प्रवक्ता झाले भने।

त्यसैगरी, राष्ट्रपति, उपराष्ट्रपति, प्रधानन्यायाधीशलगायत उच्चपदस्थ सम्मानित व्यक्तिहरुलाई पार्टीमा नभित्र्याउने प्रस्ताव पनि बैठकमा प्रस्तुत गरिएको छ।

बैठकले रुपन्देही क्षेत्रको उपनिर्वाचनमा प्रतिस्पर्धा गर्न पार्टीको समानुपातिक सूचीबाट नाम हटाउने निवेदन दिएकी कुसुम महर्जनको निवेदन स्वीकृत गरेको छ।

रास्वपाले पारदर्शिता, जवाफदेहिता र नीतिगत स्पष्टताको आधारमा आफ्नो आन्तरिक संरचना बलियो बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ।


सम्बन्धित समाचार