Logo

२१ साउन,काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई जस्ताको त्यस्तै पारित गर्न नेपाली कांग्रेसभन्दा नेकपा एमाले अझ बढी पक्षधर रहेको दाबी गरेका छन्।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले एमसीसी पारित प्रक्रिया र त्यसको पछाडिको राजनीतिक निहितार्थबारे प्रस्ट पार्दै कांग्रेस सभापति शेरबहादुर देउवाभन्दा एमाले अध्यक्ष केपी शर्मा ओली एमसीसी पारित गर्न झनै ‘कडा’ अडानमा रहेको बताए।

उनले भने, “एमसीसी जस्ताको त्यस्तै पारित गर्न दिनुहुँदैन भनेर कांग्रेस र एमाले दुवैसँग बारम्बार छलफल गरियो। तर एमाले त झन् कडा। कांग्रेसको तुलनामा एमाले अध्यक्ष केपी ओलीको अडान त झन् सशक्त देखियो।”

अपमानजनक व्यवहारको आरोप
अध्यक्ष दाहालले एमसीसीको विषयमा गम्भीर छलफलका लागि माओवादी नेतृत्व कांग्रेस र एमालेसँग अनेकौं पटक संवादमा उत्रिए पनि एमाले नेतृत्वबाट अपमानजनक भाषा र व्यवहार भएको आरोप लगाए। “देशको भलोका लागि जोसँग भए पनि संवाद गर्न लाज मान्ने कुरा थिएन,” उनले भने, “तर, एमालेसँग संवाद गर्न जाँदा यति नमिठो, यति तीतो र यति अपमानजनक भाषा प्रयोग गरियो, जुन असह्य थियो।”

उनका अनुसार माओवादी केन्द्रले प्रारम्भदेखि नै एमसीसी जस्ताको त्यस्तै स्वीकार गर्न नहुने भन्ने अडान लिएको थियो, तर कांग्रेस र एमालेको अडानले अन्ततः त्यसलाई रोक्ने अवस्था रहेन।

एसपीपी र आईपीएसमा एमालेको संलग्नता
कार्यक्रममा बोल्दै प्रचण्डले एमालेमाथि नेपाललाई अमेरिकी रणनीतिक परियोजनामा सहभागी गराउने प्रमुख प्रयासकर्ता भएको आरोप पनि लगाए। उनले भने, “आईपीएसको सदस्य बनाउने पनि उहाँहरू नै हो। एसपीपीसँग सैद्धान्तिक सहमति गर्ने पनि उहाँहरू नै हो। त्यसपछि अन्तिममा यसलाई बहिष्कार गर्ने, भोटिङमा भाग नलिने बाटो थियो। तर अनुमोदन त भइसक्यो। त्यसलाई रोक्ने र क्रान्ति नै सुरु गर्ने अवस्था थिएन।”

व्याख्यात्मक टिप्पणीसहित पारित
एमसीसीको विरोधका बीच अन्ततः व्याख्यात्मक टिप्पणीसहित पारित भएको बताउँदै अध्यक्ष दाहालले त्यसका लागि माओवादी केन्द्रले गरेको दबाब नै निर्णायक रहेको बताए। “हामीले बारम्बारको प्रयासपछि मात्रै व्याख्यात्मक टिप्प्णीसहित पारित गर्न सकेका हौं,” उनले स्पष्ट पारे।

उनका अनुसार, एमसीसी पारित प्रक्रियामा माओवादी केन्द्रले देशको सार्वभौमिकता, स्वाधीनता र हितलाई केन्द्रमा राखेर भूमिका निर्वाह गरे पनि ठूला दुई दलको स्पष्ट समर्थनले परियोजना रोक्न नसकेको तीतो यथार्थ आफूहरूले स्वीकार्नुपरेको हो।
अध्यक्ष प्रचण्डको अभिव्यक्ति एमसीसी पारितसँग सम्बन्धित पछिल्लो राजनीतिक पृष्ठभूमिको पुनरावलोकनको रूपमा आएको हो। यसले एमाले र कांग्रेस दुवैको भूमिकामाथि प्रश्न उठाएको छ भने माओवादी केन्द्रको ‘संघर्षशील’ भूमिका दर्शाउन खोजिएको छ। एमसीसी, एसपीपी र आईपीएस जस्ता अन्तर्राष्ट्रिय परियोजनाहरूमा नेपाली राजनीतिक दलहरूको फरकफरक दृष्टिकोण र व्यवहारले देशको परराष्ट्र नीतिमा गम्भीर बहस जन्माएको छ।


सम्बन्धित समाचार