२१ साउन,रौतहट । सप्तरीको कमलपुरमा प्रहरी र स्थानीयबिच भएको झडपमा एक स्थानीयको मृत्यु भएपछि राजविराजमा प्रदर्शन भइरहेको छ।
राजगढ गाउँपालिका–२ कमलपुरमा मंगलबार राति मदिरा तस्करी रोक्न पुगेको प्रहरी टोलीमाथि ढुंगामुढा भएपछि भएको झडपमा प्रहरीले चलाएको गोली लागेर ३६ वर्षीय लालु यादवको ज्यान गएको हो।
मृतक यादवको परिवार र स्थानीयबासीले घटनाको निष्पक्ष छानबिनको माग गर्दै राजविराजमा आज बिहानदेखि प्रदर्शन गर्दै आएका छन्। आक्रोशित भीडले सडकमा टायर बालेर अवरुद्ध पारेका छन्।
घटनालाई नियन्त्रणमा लिन विभिन्न स्थानमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए।
उनका अनुसार तस्करी भइरहेको सूचना पाएपछि प्रहरी टोली खटिएको थियो। प्रहरीको भनाइ अनुसार, त्यहाँ पुगेका प्रहरीमाथि केही स्थानीयले ढुंगामुढा गरेपछि स्थिति तनावग्रस्त बनेको थियो। ढुंगामुढाबाट दुई जना प्रहरी घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार घटनासम्बन्धी थप अनुसन्धान भइरहेको छ।















