Logo

२१ साउन,काठमाडौं । संघीय लोकतान्त्रिक मोर्चाले रुपन्देहीको सियारी गाउँपालिकामा आयोजना गरेको सभामार्फत जनजागरण अभियानको औपचारिक शुरुवात गरेको छ। मधेश केन्द्रित सात राजनीतिक दलहरू सम्मिलित यो मोर्चाले अधिकार, पहिचान र समावेशी प्रतिनिधित्वका मुद्दालाई पुनः उठाउँदै सशक्त उपस्थिति जनाएको छ।

मोर्चाको जनसभा रुपन्देही–३ मा हुने उपनिर्वाचनलाई केन्द्रमा राखेर गरिएको थियो। मोर्चाका शीर्ष नेताहरूले बोल्दै आगामी २०८४ को आम निर्वाचन निर्णायक हुने जिकिर गर्दै पहिचानको राजनीति पुनः बलियो बनाउने संकेत दिएका छन्।

“यो काण्डै काण्डको सरकार हो“ – राजेन्द्र महतो
कार्यक्रममा राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले अहिलेको सत्ता गठबन्धनलाई “अप्राकृतिक” भन्दै देशको सम्पत्ति लुट्ने र विगतका पापहरू लुकाउने नियतले बनाइएको आरोप लगाए।

उनले भने, “यो काण्डै काण्ड वाला सरकार हो। देशलाई लुट्न र पाप लुकाउन मात्रै बनेको हो। त्यसैले हामीले रुपन्देही–३ मा हुने चुनाव केवल चुनाव होइन, ०८४ को चुनावमा हामी सकिने कि बाँच्छौं भन्ने टेस्टका रूपमा हेरेका छौं।”

महतोले उत्पीडित समुदायको अधिकार सुनिश्चित नहुँदासम्म देशमा स्थायी शान्ति र विकास सम्भव नभएको बताए।

“देश हाम्रो, तर सत्ता होइन“ – हृदयेश त्रिपाठी
जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले मुलुक राजनीतिक रूपले सङ्घीय भए पनि राज्यसत्ता अझै सत्ताकेन्द्रित, विभेदकारी र सीमित वर्गको कब्जामा रहेको धारणा राखे। उनले चुरे क्षेत्रको विनाश हुनेगरी बनाइएको कानुनप्रति आपत्ति जनाउँदै त्यसविरुद्ध विद्रोह हुने चेतावनी दिए।

“०८२ का सहमति नमानिए ०८४ मा ठुलो मूल्य चुकाउनु पर्छ“ – रेशम चौधरी
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले मधेसी र थारू समुदायबीचको एकतालाई ऐतिहासिक गुनको रूपमा व्याख्या गर्दै यसपालिको उपनिर्वाचन गम्भीर परीक्षण भएको बताए।

“तराईका यति धेरै थारू र मधेसीको बाहुल्यता हुँदा पनि एक हुन नसक्दा अरूले राजनीति गरिरहेका छन्,” चौधरीले भने, “अधिकारको संघर्षमा राज्यले तसाईरहेको छ, तर हामी फेरि जुट्नुपर्छ।”

उनले २०८२ मा भएका सहमति सम्झौताहरू पालना नभए त्यसको असर २०८४ को निर्वाचनमा परिपक्व रूपमा देखिने भन्दै नेताहरुलाई सजग रहन आग्रह गरे।

चौधरीले नाउपाको उम्मेदवारलाई मोर्चाले समर्थन गर्ने निर्णय गरिसकेको जानकारी दिँदै भने, “अब उम्मेदवार थारू नै हुन्छ, पढेलेखेका होलान्, रुपन्देही–३ कै होलान्। बाहिरबाट उम्मेदवार आउने छैन, ढकियालाई बोकेर हिँड्नेलाई नै उठाउने हो।”

उनले पहिचानको मुद्दामा खेलबाड गर्ने जो कोही पनि “गद्दार” ठहरिने भन्दै चेतावनीसमेत दिए।

“लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर“ – वृषेश चन्द्र लाल
तमलोपा अध्यक्ष वृषेश चन्द्र लालले विगतका आन्दोलनमा भएका घटनाहरू छानबिन गर्न गठित लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारलाई आग्रह गरे। उनले यो विषय मोर्चाका साझा एजेन्डा भएको बताए।

“मधेश जनविद्रोहको कारण नबिर्सौं“ – रामकुमार शर्मा
जसपा नेपालका महासचिव रामकुमार शर्माले मधेश आन्दोलनको ऐतिहासिक कारण र मर्मलाई वर्तमान राजनीतिमा बिर्सन नहुने बताए। “हामी सबै उत्पीडित वर्ग एक भएर मात्र मुक्ति सम्भव छ,“ उनले भने।

“साझा उम्मेदवारलाई जिताएर देखाउँछौं“ – सन्तोष पाण्डे
लोसपाका नेता तथा प्रदेश मन्त्री सन्तोष पाण्डेले मोर्चाको साझा उम्मेदवारलाई आगामी उपनिर्वाचनमा जिताएरै छाड्ने प्रतिबद्धता व्यक्त गरे। उनले सबै मधेशवादी दलहरूबीचको एकता अत्यावश्यक रहेको भन्दै जनसमर्थनलाई संगठित गरेर अघि बढ्न आह्वान गरे।

देशभर आठ स्थानमा जनजागरण अभियान
संघीय लोकतान्त्रिक मोर्चाले सियारीबाट सुरु गरेको जनजागरण अभियान देशभर आठ स्थानमा सञ्चालन गरिने घोषणा गरेको छ। मोर्चाले यो अभियानमार्फत पहिचान, अधिकार, समानता र सामाजिक न्यायका मुद्दा उठाउँदै मुलुकको राजनीतिक दिशालाई प्रभावित गर्ने रणनीति बनाएको बुझिएको छ।

रुपन्देहीको यो सभा केवल एक कार्यक्रम मात्र नभई, आगामी निर्वाचनलाई केन्द्रमा राखेर मधेश केन्द्रित दलहरूको साझा रणनीति तय गर्ने महत्वपूर्ण मोर्चा बन्न पुगेको छ। दलहरूबीच अझै केही असहमतिहरू भए पनि पहिचान र अधिकारको मुद्दामा एकताबद्ध भएर चुनावी मैदानमा उत्रिने संकेत यस सभाले स्पष्ट गरेको छ।

 


सम्बन्धित समाचार