२१ साउन,काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडालाई पदबाट राजीनामा दिन आग्रह गरेका छन्। संसदीय छानबिन समितिले संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटिको लागि खतिवडालाई ’नैतिक रूपमा जिम्मेवार’ ठहर गरेपछि कोइरालाले यस्तो माग राखेका हुन्।
डिसी नेपालसँग कुरा गर्दै कोइरालाले भने, “छानबिन समितिले उहाँलाई नै नैतिक जिम्मेवार ठहर गरेको अवस्थामा उहाँले नैतिकता देखाएर पदबाट राजीनामा दिनुपर्छ।“ उनले ‘कुलिङ अफ पिरियड’ (सेवा निवृत्त भएपछि निश्चित समयसम्म अन्य सरकारी लाभको पदमा बस्न नपाउने व्यवस्था) को प्रावधानमा भएको चलखेलप्रति खतिवडाले नैतिक जिम्मेवारी लिनुपर्ने बताए।
कोइरालाका अनुसार, छानबिन समितिको प्रतिवेदनमा उल्लेखित विषयलाई दृष्टिगत गर्दै पार्टीले आवश्यक निर्णय लिनेछ। “पार्टीभित्र पनि यस विषयमा छलफल हुन्छ,“ उनले थपे, “उहाँ निर्दोष देखिए पुनः जिम्मेवारीमा फर्किनु होला। तर, यतिबेला उहाँले मार्ग प्रशस्त गरेर अनुसन्धानमा सघाउनुपर्छ।“
समितिको प्रतिवेदन र विवाद
संघीय निजामती सेवा विधेयकमा ’कुलिङ अफ पिरियड’ राख्नका लागि राज्य व्यवस्था समितिमा सर्वसम्मत निर्णय भएको थियो। तर, प्रतिनिधि सभाबाट विधेयक पारित हुँदा समितिबाट पारित भएको भन्दा फरक व्यवस्था राखिएपछि यो विवाद चर्किएको थियो। उक्त फरक प्रावधान राखिएको विषयमा छानबिन गर्न कांग्रेस सहमहामन्त्री जीवन परियारको नेतृत्वमा एक संसदीय समिति गठन गरिएको थियो।
समितिले तयार गरेको प्रतिवेदन मंगलबार प्रतिनिधि सभामा पेश गरिएको थियो। प्रतिवेदनले नामै तोकेर खतिवडालाई नैतिक जिम्मेवार ठहर गरेपछि कांग्रेसभित्र र बाहिरबाट उनको राजीनामाको माग बढ्दै गएको छ। छानबिन समितिमा कांग्रेसकी सुशीला थिङ, एमालेका ईश्वरी घर्ती र नारायणप्रसाद आचार्य, माओवादी केन्द्रका माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली र राष्ट्रिय प्रजातन्त्र पार्टीका रोशन कार्की सदस्य थिए।















