२२ साउन, काठमाडौं । निर्वाचन आयोगले ल्याएको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि २०८२’ माथि सत्तारुढ दल नेकपा एमालेले पनि असहमति जनाएको छ।
एमालेले यो कार्यविधि राजनीतिक दलहरूको आन्तरिक मामिलामाथिको हस्तक्षेप भएको भन्दै विरोध गरेको हो। एमाले केन्द्रीय निर्वाचन प्रमुख नीरज आचार्यले राजनीतिक दलहरूको गठन, सञ्चालन र मूल्याङ्कन दलको स्वायत्तता र जनताको जनादेशमा आधारित हुने बताएका छन् । उनले संविधानको धारा २६९ देखि २७२ सम्मको व्यवस्थालाई उद्धृत गर्दै यो स्वमूल्याङ्कन दलको आफ्नै आन्तरिक विषय भएको जिकिर गरे। यसअघि प्रतिपक्षी दलहरू, जसमा नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनमत पार्टी लगायतले पनि यो कार्यविधिको विरोध गरेका थिए।















