Logo

२३ साउन, रुपन्देही । सहकारी ठगी प्रकरणमा मुद्दा चलाइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा निलम्बित सांसद रवि लामिछाने बिगो रकम तिर्ने तयारीमा रहेको खुलासा भएको छ ।

गोरखा मिडियामा सहकारीको रकम दुरुपयोग गरेको अभियोगमा मुछिएका लामिछानेले रुपन्देही जिल्ला अदालतमा आफूलाई थुनामुक्त गर्न माग गर्दै निवेदन दर्ता गरेका छन् । अदालतका शाखा अधिकृत कृष्णप्रसाद पौडेलका अनुसार केही दिनअघि नै लामिछानेको थुनामुक्ति सम्बन्धी निवेदन अदालतमा पुगेको हो ।

रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछानेसहितका प्रतिवादीमाथि एकमुष्ट १० करोड ९९ लाख रुपैयाँ बिगो कायम भएको छ । लामिछानेले आफ्नो भागमा पर्ने सम्पूर्ण बिगो रकम बराबरको रकम बैंकमा जमानत राखेर रिहा गर्न माग गरेका छन् ।

यसअघि उनले कारागार सरुवाको निवेदन पनि दिएका थिए। हाल उनी पुर्पक्षका लागि रुपन्देही कारागारमा रहेका छन्। लामिछानेले यस प्रकरणलाई ‘राजनीतिक प्रतिशोध’ भएको दाबी गर्दै पार्टी पंक्तिलाई सरकारविरुद्ध सक्रिय पारेका छन् ।

अदालतमा दर्ता भएको थुनामुक्ति निवेदनमा भने अहिलेसम्म सुनुवाइ भइसकेको छैन ।


सम्बन्धित समाचार
भर्खरै