Logo

२३ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवल शमशेर जबराले पार्टीभित्रको फरक मतलाई पार्टी विभाजनको प्रयासका रूपमा नहेर्न आग्रह गरेका छन् ।

उनले पार्टी नेतृत्वले विधानविपरीत गरेका निर्णयहरू सच्याउनका लागि आफूहरू लागिपरेको बताएका छन् । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले केही नेताहरूलाई विधान मिचेर कारबाही गरेको र त्यसैका कारण विवाद उत्पन्न भएको जबराको भनाइ छ। उनले भने, ‘पार्टीभित्रका मतभेदहरूलाई आन्तरिक रूपमा समाधान गर्न नसकिएपछि हामी निर्वाचन आयोगको ढोकामा पुग्न बाध्य भएका हौँ । ’

विवादका मुख्य कारण

विधानविपरीतको कारबाही र पार्टी अध्यक्षको एकलौटी निर्णय विवादको मुख्य कारणलाई लिइएको छ । अध्यक्ष लिङ्देनले पार्टी उपाध्यक्ष मुकुन्दश्याम गिरी, अनुशासन समितिका अध्यक्ष नवराज सुवेदी, प्रवक्ता सगुनसुन्दर लावती र महामन्त्री जबरालाई समेत स्पष्टीकरणको मौका नदिई पदबाट हटाएको आरोप छ। साथै जबराले राप्रपा प्रजातान्त्रिक पार्टी भएकाले सबै निर्णयहरू सामूहिक रूपमा हुनुपर्नेमा जोड दिएका छन् ।

उनले अध्यक्षको एकलौटी निर्णयले पार्टीमा समस्या ल्याएको बताएका छन् । आफूहरूमाथि भएको कारबाहीलाई चैत १५ गतेको घटनासँग जोड्नु गलत भएको जबराको भनाइ छ। उनले नजिकिँदै गरेको महाधिवेशन र नेतृत्वको एकलौटी निर्णयको विरोध गरेका कारण आफूहरू कारबाहीमा परेको बताएका छन्।

उनले पार्टी विभाजनका लागि मतभेद नभई एकलौटी ढंगले नचलोस् भन्ने नै आफ्नो मुख्य ध्येय रहेको बताएका छन्।


सम्बन्धित समाचार