काठमाडौं — नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली र आफ्नै पार्टीका सम्मानित नेता झलनाथ खनालप्रति कडा टिप्पणी गरेका छन्।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेपालले ओलीको जनसंख्यासम्बन्धी टिप्पणी र खनालको पार्टी विद्रोहप्रतिको पछिल्लो अभिव्यक्तिको आलोचना गरेका हुन्।
प्रधानमन्त्री ओलीमाथि व्यंग्य
केही समयअघि प्रधानमन्त्री ओलीले ३० वर्षसम्म तीन सन्तान जन्माउन गरेको आग्रहलाई लक्षित गर्दै नेपालले व्यंग्य गरेका छन् । उनले भने, “अहिलेका प्रधानमन्त्री त १६ वर्षमै बच्चा जन्माए पनि खुसी नै होलान्। पुरस्कार दिन बेर छैन। तीन सन्तान जन्माउनुपर्छ भनिरहेका छन्।”
झलनाथ खनाललाई कडा चेतावनी
नेपालले आफ्नो पार्टीका सम्मानित नेता झलनाथ खनालको पछिल्लो अभिव्यक्तिप्रति पनि असन्तुष्टि व्यक्त गरे। खनालले मिडियामा गएर पार्टीको विरोध गर्ने र एमालेबाट भएको विद्रोहको औचित्यमाथि प्रश्न उठाएको भन्दै नेपालले भने, ‘मिडियामा जाने, पार्टीको विरोध गर्ने, विद्रोहको औचित्य छैन भन्ने किन आउनुपर्यो? विद्रोह ठीक लागेन भने केपी ओलीजीको सेवा गरेर बसे भइहाल्थ्यो नि।’
उनले संविधान मिच्ने र संसद विघटन गर्ने ओलीको कदमको विरोधमा नै एमालेबाट विद्रोह गरेको र त्यो निर्णय सही भएको तर्क गरे। नेपालले भने, हामीले रहरले त्यो पार्टी छोडेको होइन। हामीले संविधान जोगाउने मात्रै होइन, कम्युनिष्ट आन्दोलनलाई बद्नाम हुनबाट पनि जोगाएका हौँ। उनले पार्टीका नेताहरूलाई पार्टीको अनुशासन पालना गर्न र प्रतिष्ठा बढाउनका लागि काम गर्न पनि आग्रह गरे।
















