Logo

२६ साउन, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालबीच शनिबार भेटवार्ता भएको छ।

केही दिनदेखि दुई नेताबीच पार्टीभित्रको आन्तरिक विवाद र राजीनामाको चुनौतीले चर्को बहस चलिरहेका बेला पार्टीका अन्य नेताहरूले उनीहरूलाई भेट गराएका थिए।

समस्या समाधानमा भएन छलफल

अध्यक्ष नेपाल र खनालबीचको भेटवार्ता पार्टी कार्यालय आलोकनगरमा भएको थियो। नेताहरू राजेन्द्र पाण्डे, प्रमेश हमाल, र घनश्याम भुसालले उनीहरूलाई एकै ठाउँमा ल्याएका थिए। भेटपछि पार्टीभित्रको समस्या समाधान हुने अपेक्षा गरिएको थियो, तर नेता खनालले भेटमा मुख्य समस्याबारे छलफल नै नभएको बताए । खनालका अनुसार, ‘हिजो सामान्य भेटघाटमात्र भयो। मैले जिज्ञासा राखेँ, उहाँले आफ्नो कुरा अलि लामो भन्नुभयो। तर आजका समस्याका बारेमा केन्द्रित हुनुभएन ।’ करीब ४० मिनेट चलेको भेटमा कुनै ठोस निर्णय हुन सकेन। अध्यक्ष नेपाल जनकपुर जान हतार भएकाले थप छलफल नगरी हिँडेको खनालले बताए। दुवै नेताले फेरि बसेर छलफल गर्ने कुरा गरेका छन्।

खनालको व्यङ्ग्यात्मक टिप्पणी

भेटघाटपछि खनालले व्यङ्ग्यात्मक शैलीमा ‘सारै ठूलो उपलब्धि भनेको हिजो उहाँसँग भेट भयोभनेर प्रतिक्रिया दिएका छन्। उनले छलफल गर्दै जाने र कुराहरू स्पष्ट पार्ने आशय व्यक्त भएको भए पनि अध्यक्ष नेपालका आफ्नै कुराहरू भएकोले अहिले नै केही भन्न नसकिने बताए । माधव नेपालसँगको भेटपछि खनालले अर्का नेता बामदेव गौतमसँग पनि भेट गरेका थिए। गौतमसँगको भेटमा भने पुराना कुराहरू स्मरण गरेको खनालले जनाए ।


सम्बन्धित समाचार