२७ साउन, काठमाडौं । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेशसभामा विश्वासको मत लिँदैछन् ।
तर, उनलाई आफ्नै पार्टी नेपाली कांग्रेसका १४ सांसदले धोका दिने सम्भावना बढेपछि विश्वासको मत पाउन संकटमा परेका छन् । मुख्यमन्त्री बानियाँले विश्वासको मत लिनका लागि आज दिउँसो ४ बजे प्रदेशसभाको बैठक आह्वान गरेका छन्। उनलाई बहुमतका लागि ११० सदस्यीय प्रदेशसभामा ५६ सांसदको समर्थन आवश्यक पर्छ। यद्यपि, सत्तारुढ गठबन्धनमा रहेका नेपाली कांग्रेसका ३७ र नेकपा एमालेका २७ गरी कुल ६४ सांसद हुँदा पनि कांग्रेसभित्रको आन्तरिक कलहले उनलाई समस्या परेको छ।
लामा समूहको अडान र देउवाको निर्देशन
पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा समूहका १४ जना सांसदले आफ्नो समूहका ३ जनालाई मन्त्री नबनाए विश्वासको मत नदिने अडान लिएका छन्। उनीहरूले यसका लागि पार्टी सभापति शेरबहादुर देउवासँग समेत भेटवार्ता गरेका थिए । यद्यपि, सोमबार सभापति देउवाले लामा समूहका सांसदहरूलाई मुख्यमन्त्रीलाई विश्वासको मत दिन निर्देशन दिएका छन् । देउवाले ‘मन्त्री नियुक्ति गर्न म मुख्यमन्त्रीलाई भन्छु, अहिले विवाद नगरी विश्वासको मत दिनुहोस’ भनेर सम्झाएको लामा पक्षका सांसद गोविन्द लम्सालले बताए ।
तर, लम्सालले सभापतिको निर्देशन भए पनि मुख्यमन्त्रीले सहमति कार्यान्वयनको प्रतिबद्धता नजनाएसम्म विश्वासको मत नदिन सक्ने चेतावनी दिएका छन् । यद्यपि, लामा निकट एक सांसदका अनुसार देउवाको निर्देशनलाई उल्लंघन गर्न सहज नहुने बताएका छन्।
कांग्रेसभित्रको विवाद
आफ्नो पालामा मन्त्री बनेका तीन जनालाई अहिलेको सरकारमा पनि निरन्तरता नदिएकामा लामा पक्ष रुष्ट छ। यता, बानियाँ निकट सांसद सुरजचन्द्र लामिछानेले संसदीय दलको ह्विप जारी भइसकेको अवस्थामा सांसदहरूले दायाँबायाँ गर्ने छुट नभएको बताएका छन्। उनले गत चुनावमा लामालाई समर्थन गरेजस्तै अहिले लामा पक्षले पनि बानियाँलाई समर्थन गर्नुपर्ने तर्क गरेका छन् ।
मुख्यमन्त्री बानियाँलाई विश्वासको मत दिन सत्ता साझेदार दुवै दल, कांग्रेस र एमालेले, ह्विप जारी गरेका छन्। तर, कांग्रेसभित्रको यो किचलोले बानियाँले सहजै बहुमत पाउँछन् कि पाउँदैनन् भन्नेमा सबैको चासो बढेको छ।















