Logo

२७ साउन, काठमाडौं । ‘कुलिङ अफ पिरियड’ सम्बन्धी विवादको छानबिन गर्न गठित विशेष समितिले दोषी ठहर गरेपछि राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले राजीनामा दिने तयारी गरेका छन् ।

आज बस्ने प्रतिनिधिसभाको बैठकमा सम्बोधनका लागि उनले सभामुखसँग समय मागेका छन् । स्रोतका अनुसार, प्रतिनिधिसभा बैठक सुरु हुनुअघि खतिवडाले सभामुख देवराज घिमिरे र नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेसँग भेटवार्ता गरेका थिए। यो भेटघाटलाई उनको राजीनामाको घोषणा गर्नुअघिको परामर्शका रूपमा हेरिएको छ । विशेष छानबिन समितिले आफ्नो प्रतिवेदनमा ‘कुलिङ अफ पिरियड’ सम्बन्धी गडबडीमा खतिवडा र समितिका सचिव सुरजकुमार दुरालाई प्रत्यक्ष रूपमा जिम्मेवार ठहराएको थियो ।

समितिको यो प्रतिवेदन सार्वजनिक भएपछि नेपाली कांग्रेसभित्रै पनि गम्भीर त्रुटिका लागि जिम्मेवार व्यक्तिलाई पदमा राख्न नहुने भन्दै प्रश्न उठेको थियो । यस घटनापछि खतिवडाले नैतिक जिम्मेवारी लिँदै राजीनामा दिने निर्णयमा पुगेको बुझिएको छ। उनको यो कदमले संसदीय मर्यादा र राजनीतिक नैतिकताको विषयलाई पुनः चर्चामा ल्याएको छ।


सम्बन्धित समाचार