प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

२३ साउन, काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संसद्मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यशैली र सामाजिक सञ्जालमा गरिने टिप्पणीप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् ।

उनले रास्वपाले एउटा बैठक बहिष्कार गर्ने तर अर्कोमा सहभागी हुने विरोधाभासपूर्ण व्यवहार देखाएको भन्दै प्रश्न उठाएका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै बर्तौलाले रास्वपाले संसद्को मूल बैठक बहिष्कार गरे पनि संसदीय समितिका बैठकहरूमा भने सक्रियताका साथ सहभागी भइरहेको बताए। उनले रास्वपाको यस व्यवहारलाई ‘बहिष्कारको नाटक’को संज्ञा दिँदै एकातिर बहिष्कारको नाटक गर्दै हुनुहुन्छ, अर्कोतिर मिनी संसद्मा सहभागी हुनुहुन्छ। संसद् बहिष्कार गरेको के अर्थ? केका लागि जनतामा भ्रम पार्न खोज्दै हुनुहुन्छ? भनेर प्रश्न गरे ।

अभद्र शब्द प्रयोग गरेको आरोप

बर्तौलाले रास्वपाका सांसद र कार्यकर्ताहरूले राजनीतिक प्रतिस्पर्धीहरूमाथि सामाजिक सञ्जालमा अश्लील र असामाजिक शब्दहरू प्रयोग गरेको आरोप लगाएका छन्। उनले भने, ‘संसद् बहिष्कार गरेर बाहिर गएपछि सामाजिक सञ्जालमा प्रधानमन्त्री, मन्त्री, आफूलाई मन नपर्ने नेता तथा सांसदविरुद्ध गालीगलौजका शब्दहरू प्रयोग गरिरहनुभएको छ।’

उनले विशेषगरी ‘हनुमान, दलाल, झड्केलो छोरो’छोरी जस्ता शब्द प्रयोग भएको र स्वर्गीय हजुरआमाको नामसम्म जोडेर गाली गरिएको भन्दै त्यसप्रति आपत्ति जनाए। बर्तौलाले रास्वपालाई आफ्नो कार्यशैली सुधार्न आग्रह गर्दै यस्तो व्यवहारले भविष्यमा उनीहरूलाई नै भारी पर्ने चेतावनी दिए।


सम्बन्धित समाचार
भर्खरै