२८ साउन,रुपन्देही । उपनिर्वाचनको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले लुम्बिनी प्रदेशमा तीन दिने प्रशिक्षण कार्यक्रम गर्ने भएको छ। रास्वपा लुम्बिनी प्रदेश प्रशिक्षण प्रतिष्ठानको आयोजनामा साउन २९, ३० र ३१ गते रुपन्देहीको भैरहवामा उक्त कार्यक्रम सञ्चालन हुने भएको हो।
पार्टी लुम्बिनी प्रदेश सभापति देवराज पाठकका अनुसार प्रशिक्षण कार्यक्रममा कार्यवाहक सभापति डिपी आचार्य, उपसभापति स्वर्णिम वाग्ले, प्रवक्ता मनिष झा, पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठलगायतले पार्टी सबलीकरण, सदस्य संख्या वृद्धि र रुपन्देही क्षेत्र नं. ३ को उपनिर्वाचनसम्बन्धी विषयमा प्रशिक्षण दिने छन्।
प्रशिक्षनमा पार्टीका प्रदेश समिति, सल्लाहकार, जिल्ला तथा क्षेत्रीय समितिका पदाधिकारी तथा प्रदेश विभागका सदस्यहरूको सहभागिता रहने बताइएको छ।
पाठकका अनुसार साउन २९ गते सबै जिल्लाका सभापतिहरूको बन्द शिविर सञ्चालन हुनेछ भने ३० र ३१ गते प्रदेशभरका पालिका पदाधिकारी तथा प्रदेश कमिटी सदस्यहरूका लागि विशेष प्रशिक्षण सत्र सञ्चालन गरिनेछ।
रुपन्देही क्षेत्र नं. ३ मा आसन्न उपनिर्वाचनलाई लक्षित गर्दै रास्वपाले आफ्नो सांगठनिक सक्रियता तीव्र बनाएको देखिन्छ। यसअघि पार्टी संसदीय दलको बैठकसमेत रुपन्देहीमै आयोजना गरिएको थियो।
पार्टी स्रोतका अनुसार रास्वपा प्रदेशस्तरीय संगठन विस्तार र सशक्त बनाउने उद्देश्यसहित आगामी चुनावका लागि तयारीमा जुटेको छ।















