२९ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृहमन्त्री रमेश लेखकलाई न्यायालयको काममा हस्तक्षेप गरेको र मुद्दा प्रभावित पार्न भूमिका खेलेको आरोप लगाएको छ ।
बिहीबार प्रतिनिधि सभाको बैठकमा रास्वपाकी सांसद डा. चन्दा कार्कीले समय लिएर बोल्दै यस्तो गम्भीर आरोप लगाएकी हुन् । सांसद कार्कीले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले गृहमन्त्रीको न्यायालयमाथिको हस्तक्षेपबारे दिएको अभिव्यक्तिलाई समेत उद्धृत गर्दै यस विषयमा प्रश्न उठाएकी थिइन् । उनले गृहमन्त्रीको सचिवालयबाटै न्याय परिषद्मा उजुरी पठाएको आरोपसमेत लगाएकी छन् । डा.कार्कीले भनिन्, “गत सोमबार रुपन्देही जिल्ला अदालतमा रवि लामिछानेको निवेदनमाथि पेसी चढेको दिन गृहमन्त्रीकै कार्यकक्षमा उजुरी तयार पारिएको र त्यसको प्रतिलिपि उहाँकै सचिवालयबाट सबैतिर पठाइएको भन्ने सूचना र समाचारहरू बाहिरिएका छन् ।” उनले यो कार्य योजनाबद्ध रहेको र यसले स्वतन्त्र न्यायप्रणालीमाथि प्रश्नचिह्न खडा गरेको बताइन् ।
कानुन जान्ने व्यक्तिले नै यस्तो कदम चाल्दा समाजमा गलत सन्देश जाने भन्दै उनले न्याय परिषद्मा उजुरी परेको दिन र पेसी चढेको दिन एकै हुनु संयोग मात्र नभएको दाबी गरिन् । उनले केही सांसदहरूले कानुनमन्त्री र प्रधानमन्त्रीले समेत न्यायाधीशलाई फोन गरेको आरोप लगाएको उल्लेख गर्दै यस विषयमा सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराइन् ।

















