३१ साउन, वीरगञ्ज । वीरगञ्जस्थित एपेक्स म्यानेजमेण्ट कलेजले बीबीए कार्यक्रमको पहिलो ब्याचमै शतप्रतिशत नतिजा निकाल्दै उल्लेखनीय सफलता हासिल गरेको छ।
सुदूरपश्चिम विश्वविद्यालयसँग सम्बन्धन प्राप्त कलेजमा गत वर्ष साउन ३२ गतेदेखि बीबीए कार्यक्रम सुरु गरिएको थियो। ३३ सिटमध्ये २८ विद्यार्थी भर्ना भएका थिए, जसमा सबैजना पहिलो ब्याजमा उत्तीर्ण भएका छन्।
कलेज सञ्चालक समिति अध्यक्ष डा. दिपेन्द्र कुमार चौधरीका अनुसार, बीबीए सुरुवातमै उत्कृष्ट नतिजा आउनु कलेजलाई वीरगञ्जकै मात्र नभई प्रदेशकै उत्कृष्ट शैक्षिक गन्तव्यका रूपमा स्थापित गर्ने आधार बनेको छ।
उत्कृष्ट व्यवस्थापन, दक्ष र अनुभवी प्राध्यापकहरूको योगदान तथा विद्यार्थीहरूको मेहनत र लगनशीलताले नै यो सफलता सम्भव भएको कलेजका एकेडेमिक निर्देशक दर्शन केसीले बताए ।
यो नतिजाले वीरगञ्जमा शैक्षिक गुणस्तर कमजोर छ भन्ने धारणा तोड्न मद्दत गरेको र उच्च शिक्षाका लागि राजधानी वा विदेश धाउने विद्यार्थीलाई वीरगञ्जमै गुणस्तरीय विकल्प उपलब्ध गराएको कलेजले जनाएको छ ।
साथै, कर्णालीपछि मधेस प्रदेशमा सुदूरपश्चिम विश्वविद्यालयकै बीबीए कार्यक्रममा प्राप्त यस उपलब्धिले मधेसका कलेजहरूको शैक्षिक स्तरमा भएको सकारात्मक सुधारलाई प्रमाणित गरेको पनि कलेजको दाबी छ ।















