३१ साउन,चितवन । भरतपुर महानगरपालिकामा निर्माण भएका १३ वटा भूमिगत जल सिँचाइ आयोजना उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको छ। यी आयोजनाहरूले करिब तीन सय हेक्टर जमिनमा सिँचाइ सुविधा पु¥याएका छन्।
भरतपुर–२३ आलमघाटमा आयोजित एक कार्यक्रममा यी आयोजनाहरू उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको हो। भूमिगत जल सिँचाइ आयोजना चितवनका प्रमुख विश्वबन्धु केसीका अनुसार, वैकल्पिक सिँचाइको अभाव भएका क्षेत्रमा सेवा पु¥याउने उद्देश्यले यी आयोजनाहरू निर्माण गरिएको हो।
आयोजना र लागत
हस्तान्तरण गरिएका आयोजनाहरू भरतपुरका विभिन्न वडामा छन्, जसमा नर्मदेश्वर र मनकामना (भरतपुर–१५), रुखेनी (भरतपुर–१८), संगम, सम्झौता र जुनतारा (भरतपुर–२१), पटिहानी पर्सा (भरतपुर–२२), ठाडोखोला, केरुङ, साँङ्गे र फाल्गुनी (भरतपुर–२३), भगौली (भरतपुर–२५), र झ्याउरेटाँडी (भरतपुर–२७) रहेका छन्।
यी आयोजनामा कुल ७ करोड ३२ लाख ७९ हजार ४४५ रुपैयाँ खर्च भएको छ र १९,५३१ मिटर पाइपलाइन जडान गरिएको छ। यसले भरतपुरका खडेरीग्रस्त क्षेत्रमा डिप बोरिङमार्फत पानी आपूर्ति गरी उत्पादनशील जमिनको विस्तार गरेको छ।
किसान र जनप्रतिनिधिको प्रतिक्रिया
पटिहानी पर्साका किसान यमप्रसाद लामिछानेले आयोजनाले सिँचाइ समस्या समाधान गरेको बताएका छन्। त्यस्तै, भरतपुर–१५ का किसान मनिभद्र कँडेलले खडेरीले बाँझो रहेका जमिनमा पानी पुगेपछि किसानहरू खुसी भएको बताए।
भरतपुर महानगर प्रमुख रेनु दाहालले यी आयोजनाहरूले महानगरको पश्चिमी क्षेत्रमा सिँचाइको अभावले बाँझो हुने समस्याको समाधान गरेको बताइन्। उनले नारायणी लिफ्ट र खगेरी सिँचाइसँगै डिप बोरिङले थप सहजता ल्याएको उल्लेख गर्दै किसानहरूलाई आवश्यक सहयोगका लागि महानगर सधैं तयार रहने प्रतिबद्धता पनि व्यक्त गरिन्।
















