१ साउन, बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई ललितपुरको नख्खु कारागार सार्न आज रुपन्देही कारागार, भैरहवाबाट बाहिर निकालिएको छ। उनलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल लगेर बुद्ध एयरको उडानमार्फत काठमाडौं ल्याइँदैछ।
सुप्रिम सहकारी ठगी प्रकरणमा थुनामा
लामिछाने बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि गत चैत २५ गतेदेखि रुपन्देही कारागारमा थुनामा थिए। जेठ १४ गते उनले कारागार स्थानान्तरणको माग गर्दै रुपन्देही जिल्ला अदालतमा निवेदन दिएका थिए, जसमा अदालतले जेठ १६ गते अनुमति प्रदान गरेको थियो। तर गृह मन्त्रालयअन्तर्गत गृह प्रशासनले त्यसलाई तत्काल कार्यान्वयन गर्न रोक लगाएको थियो।
राजनीतिक दबाब र मानव अधिकार संस्थाको चासोपछि निर्णय
सरुवा प्रक्रिया रोकिएपछि रास्वपाले संसदमा समेत विरोध जनाएको थियो। लामिछानेकी पत्नी निकिता पौडेलले अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्थासम्म पुग्ने चेतावनी दिएकी थिइन्।
यसैबीच, केही दिनअघि मानव अधिकार आयोगको टोलीले रुपन्देही कारागारको अनुगमन गर्दा लामिछानेले भैरहवामा आफ्नो ज्यान असुरक्षित महसुस भएको र बसाइ असहज रहेको बताएका थिए। यसले सरकारमाथि थप दबाब सिर्जना गरेको थियो।
४० दिनपछि कार्यान्वयनमा आयो अदालतको आदेश
अदालतबाट अनुमति पाएको करिब ४० दिनपछि, हिजोमात्रै कारागार व्यवस्थापन विभागले लामिछानेलाई सरुवा गर्ने निर्णय गरेको हो। आज बिहान उनलाई कारागारबाट निकालेर विमानस्थल लगिएको हो।
कारागारबाहिर रास्वपा कार्यकर्ताको भिड
लामिछानेलाई काठमाडौं पठाउने तयारीसँगै भैरहवा कारागार बाहिर रास्वपाका नेता तथा कार्यकर्ताहरूको भिड लागेको थियो। उनलाई आज दिउँसो ३ः१० को बुद्ध एयरको फ्लाइटमार्फत काठमाडौं ल्याइने कार्यक्रम तय गरिएको थियो, यद्यपि कारागारबाट निकाल्नमा केही ढिलाइ भएको थियो।















