१ भदौ, काठमाडौं । भारतका विदेश सचिव विक्रम मिश्री दुईदिने औपचारिक भ्रमणका लागि आज काठमाडौं आउँदैछन्।
परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपाल भ्रमणमा आउन लागेका मिश्रीको यो यात्रा नेपाल-भारत सम्बन्धलाई अझ मजबुत बनाउन महत्वपूर्ण मानिएको छ।
परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा नेपाल भारत साझेदारीका विभिन्न पक्ष, कनेक्टिभिटी, विकास सहयोग तथा पारस्परिक हितका विषयमा दुई पक्षबीच विस्तृत छलफल हुनेछ।
विदेश सचिव मिश्रीले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निम्तापत्र हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री ओली आगामी भदौ १४ देखि चीन भ्रमणमा जाने तयारीमा रहेका छन् भने त्यसलगत्तै भदौ ३१ र असोज १ गते भारतको औपचारिक भ्रमण गर्ने कार्यतालिका तय भएको छ।
नेपालमा बसाइको क्रममा मिश्रीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री ओली, परराष्ट्रमन्त्री आरजु राणा देउवासहित उच्चस्तरीय नेतृत्वसँग शिष्टाचार भेट गर्नेछन्। साथै, बोधगयामा हुने दुई देशका प्रधानमन्त्रीबीचको द्विपक्षीय वार्ताका एजेण्डा सम्बन्धमा पनि छलफल हुने मन्त्रालयले जनाएको छ।
विदेश सचिव मिश्री सोमबार स्वदेश फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।















