१ भदौ, काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्री दुईदिने औपचारिक भ्रमणका लागि आज काठमाडौं आइपुगेका छन्। परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा उनी नेपाल भ्रमणमा आएका हुन्।
काठमाडौं अवतरणपछि मिश्री सिधै बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरेका छन्। बिहान १०ः३० बजे प्रधानमन्त्री ओलीलाई भेटिसकेपछि उनी शीतल निवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट्ने कार्यक्रम छ। त्यसपछि उनी बुढानीलकण्ठ पुगेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग र खुमलटारमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट्नेछन्।
दिवसभरको राजनीतिक भेटघाटपछि मिश्री र परराष्ट्र सचिव अमृतबहादुर राईबीच दुईपक्षीय बैठक बस्नेछ। बैठकमा नेपाल–भारत साझेदारीका विभिन्न आयाम र प्रधानमन्त्री ओलीको आसन्न भारत भ्रमणका एजेन्डा तय गरिने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ। प्रधानमन्त्री ओली भदौ ३१ र असोज १ गते भारतको दुईदिने औपचारिक भ्रमणमा जाने कार्यक्रम तय भइसकेको छ।
यसपछि भारतीय विदेश सचिवले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग भेटवार्ता गर्नेछन्। राति परराष्ट्र सचिव राईको आतिथ्यतामा आयोजित भोजमा उनले सहभागिता जनाउने कार्यक्रम रहेको छ।
भोलि भदौ २ गते बिहान मिश्रीले पशुपतिनाथ मन्दिरको दर्शन गर्ने र त्यसपछि स्वदेश फर्किने कार्यक्रम रहेको बताइएको छ।















