१ भदौ,जनकपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रहरीलाई शासकको शैलीमा नभई जनताको सेवकको भूमिकामा रहन निर्देशन दिएका छन्। आइतबार जनकपुरधाममा मधेश प्रदेश प्रहरी कार्यालयको नवर्निर्मित भवन उद्घाटन गर्दै आयोजित कार्यक्रममा बोल्दै ओलीले प्रहरी संगठनलाई सुशासन र शान्ति सुरक्षाको बलियो आधारका रूपमा काम गर्न आग्रह गरे।
प्रधानमन्त्री ओलीले प्रहरीलाई कसैलाई जबरजस्ती फसाउने या यातना दिने काम नगर्न चेतावनी दिँदै भने, “राणा शासन वा पञ्चायती व्यवस्थामा जस्तो यातना र झूटा आरोपको चलन अब हुन दिनु हुन्न। अहिले पनि केही तत्वहरू अराजकता फैलाउने र आफूलाई नयाँ शक्ति भन्दै भ्रम छर्ने प्रयासमा छन्, प्रहरी त्यसविरुद्ध सजग हुनुपर्छ।”
उनले लोकतन्त्रको नाममा झूठो प्रचार र समाजमा विखण्डन गर्ने तत्वहरूलाई देशले चिनेको र समाजले त्यसको प्रतिकार गर्नुपर्ने धारणा राखे।
“नेपाली सेनाले राष्ट्रको सुरक्षा गर्दै आएको छ, त्यसैगरी नेपाल प्रहरीले पनि आफ्नो दक्षता र इमान्दारीका साथ जनताको सेवा र सुरक्षामा समर्पित हुनुपर्छ,” प्रधानमन्त्री ओलीको भनाइ थियो।
उनले हाल देशमा आपराधिक क्रियाकलाप, चोरी–डकैती, लागुऔषध दुरुपयोग, तस्करी र मानव ओसारपसार लगायतका चुनौतीहरू बढ्दै गइरहेकाले प्रहरी संगठनलाई गम्भीर र इमान्दार ढंगले काम गर्न पनि निर्देशन दिए।















