२ भदौ, जनकपुरधाम । मधेश प्रदेशले राजस्व सङ्कलनमा सात वर्षकै उच्च प्रगति गरेको छ । प्रदेशको अर्थ मन्त्रालयका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा पाँच अर्ब ५४ करोड ७२ लाख ३३ हजार राजस्व सङ्कलन भएको हो ।
यो रकम सात वर्षअघिको तुलनामा दोब्बर बढी हो । आर्थिक वर्ष २०७५/७६ मा दुई अर्ब ६६ करोड १५ लाख ३६ हजार मात्र सङ्कलन भएकोमा पछिल्लो आवमा उल्लेख्य वृद्धि भएको हो ।
अर्थ मन्त्रालयका सचिव रामकुमार महतोले कर प्रशासन सुदृढीकरण, डिजिटल प्रणालीको विस्तार र आन्तरिक आर्थिक गतिविधि बढ्नु यस उपलब्धिको प्रमुख कारण रहेको बताए । उनले भने, “राजस्व सङ्कलनमा यो उल्लेख्य प्रगति हो, यसले अब राम्रो लिक समातेको छ।”
यसअघि आर्थिक वर्ष २०८०/८१ मा तीन अर्ब पाँच करोड ९२ लाख ३१ हजार राजस्व सङ्कलन भएको थियो । मन्त्रालयले आगामी वर्षमा अझै सुधार हुने विश्वास व्यक्त गरेको छ । सचिव महतोका अनुसार सङ्कलन प्रक्रियालाई वैज्ञानिक र व्यवस्थित ढंगले अगाडि बढाइएकाले आगामी वर्षमा थप उपलब्धि हासिल हुने अपेक्षा गरिएको छ ।















