२ भदौ, वीरगञ्ज । सशस्त्र प्रहरी बल नेपाल पर्साले भन्सार छली गरी ल्याइएका सामानसहित करिब ४८ लाख ९१ हजार रुपैयाँ बराबरको सुजुकी भिटारा ब्रेजा गाडी नियन्त्रणमा लिएको छ।
प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका–९ घण्टाघरचोकबाट रक्सौलतर्फ जाँदै गरेको बिआर०१एफई ७१९९ नम्बरको गाडीमा आवश्यक कागजात नभेटिएपछि उक्त गाडीलाई वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको हो। गाडीको अनुमानित मूल्य मात्रै ३० लाख रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरीका सूचना अधिकारी नायब उपरीक्षक कृष्णसिंह पुजाराका अनुसार, आज मात्रै विभिन्न स्थानबाट भन्सार छली गरी नेपाल भित्र्याइएको अवस्थामा १५ लाख ६९ हजार रुपैयाँ बराबरको कपडा, बटर तथा सवारीसाधनका इन्जिन स्पेयर पार्टस नियन्त्रणमा लिइएको छ।
त्यस्तै, वीरगञ्ज–१६ का विभिन्न नाकाबाट भन्सार छली गरी ल्याइएका एक लाख ७० हजार ८८५ रुपैयाँ मूल्यका सामान तथा मदिरा पनि नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाइएको उनले बताए ।
यस्तै, प्रस्तावित सीमा सुरक्षा गुल्म अलौबाट खटिएको टोलीले वीरगञ्ज महानगर–१९ वर्वाबाट ८७ हजार ४२० रुपैयाँ मूल्यका भन्सार छलीका सामान बरामद गरेको छ भने छपकैयाबाट ६३ हजार ९७० रुपैयाँ बराबरका कपडा र किराना सामान नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।















