३ भदौ,सप्तरी । सप्तरीको खड्क नगरपालिका-६ मा श्रीकृष्ण जन्मष्टमीको मूर्ति सेलाउने क्रममा पोखरीमा डुबेर सोमबार साँझ एक युवकको मृत्यु भएको छ। खड्क नगरपालिका-७ का १८ वर्षीय राजा चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जीतेन्द्रकुमार बस्नेतले जानकारी दिए ।
उनका अनुसार जन्माष्टमीका अवसरमा गाउँमा बनाइएको मूर्ति सेलाउन सार्वजनिक पोखरीमा जाँदा उनको डुबेर मृत्यु भएको हो। डुबेर अचेत भएका चौधरीलाई गाउँलेहरूले राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचारका लागि ल्याएका थिए । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै घोँघी टिप्न गएका बेला वडा नं २ सीतापुरका स्थानीय सजनी सदाको पोखरीमा डुबेर मृत्यु भएको छ। सदा घरबाट करिब दुई किलोमिटर उत्तरमा रहेको रञ्जन चौधरीको निजी पोखरीमा घोँघी टिप्न गएका बेला डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनरूका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए ।















