४ भदौ, काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी ‘टप एन्ड टी-२० सिरिज’ मा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै मेलबर्न रेनेगेड्स एकेडेमीलाई ३३ रनले पराजित गरेको छ। बुधबार भएको खेलमा यो जितसँगै नेपालले लगातार दोस्रो जित निकालेको हो।
खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३९ रन बनाएको थियो। नेपालका लागि कुशल मल्लले २९ रन, कप्तान दीपेन्द्रसिंह ऐरीले २७ रन र लोकेश बमले २४ रन को महत्त्वपूर्ण योगदान दिए।
रेनेगेड्सका बलरमध्ये फर्गस ओनिल, लचलान बाङ्स, क्यालम स्टो र माइकल आर्चरले समान २-२ विकेट लिएका थिए।
१४० रनको लक्ष्य पछ्याएको रेनेगेड्स एकेडेमी २० ओभरमा १०६ रनमा अलआउट भयो। रेनेगेड्सका लागि अर्जुन नायरले सर्वाधिक २६ रन बनाए।नेपालको जितमा सोमपाल कामी को बलिङ जादुमय रह्यो। उनले ४ ओभरमा १७ रन दिएर ५ विकेट लिए। त्यसैगरी, कुशल भुर्तेलले २ विकेट लिए भने रुपेश सिंह, दीपेन्द्रसिंह ऐरी र शाहब आलमले १-१ विकेट हात पारे।
यसअघि, नेपालले मंगलबार होबार्टविरुद्ध ६६ रनको फराकिलो जित हासिल गरेको थियो। सुरुवाती तीन खेलमा लगातार हार बेहोरेको नेपालको यो लगातार दोस्रो जित हो।
अंक तालिकामा सुधार५ खेलबाट ४ अंक जोडेको नेपाल सातौं स्थानमा उक्लिएको छ। यो प्रतियोगितामा शीर्ष ४ मा रहने टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। नेपालले अब आफ्नो अर्को खेल शुक्रबार पाकिस्तान शाहीन्ससँग खेल्नेछ।

















