४ भदौ,वीरगञ्ज । बाराको कोल्हबीमा निर्माणाधीन अत्याधुनिक तथा सुविधासम्पन्न हाटबजारको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। कुल १८ करोड रुपैयाँको लागतमा बनिरहेको यो हाटबजारको ९५ प्रतिशत काम पूरा भइसकेको र बाँकी ५ प्रतिशत काम पनि केही दिनमै सकिने साइट इन्चार्ज दिनेश खनालले जानकारी दिए।
कोल्हबीको मुख्य चोकमा ३ बिघा क्षेत्रफलमा फैलिएको यो हाटबजारमा ७ वटा ब्लक छन्, जसमा विभिन्न प्रकारका सामानको बिक्रीका लागि छुट्टाछुट्टै कक्ष बनाइएको छ। निर्माणको जिम्मा लिएको मिसन कन्ट्रक्शन एन्ड सप्लायर्सका अनुसार यहाँ ७२ वटा सटरसहितका ३ वटा सपिङ कम्प्लेक्स, २६ वटा सटर भएका २ वटा भवन र २ वटा खुद्रा बजारका लागि छुट्टै सेडहरू तयार भइरहेका छन्।
कोल्हबी नगरपालिकाका मेयर राम प्रसाद चौधरीले लामो समयदेखि साँघुरो र जोखिमपूर्ण अवस्थामा व्यवसाय गर्दै आएका व्यवसायीहरूलाई एकीकृत र व्यवस्थित गर्ने उद्देश्यले यो परियोजना सुरु गरिएको बताए। उनले हाटबजार सञ्चालनमा आएपछि व्यवसायी र किसान दुवैलाई फाइदा पुग्ने बताए।
मेयर चौधरीले यो परियोजनालाई नगरपालिकाको गौरवको आयोजना भन्दै आउँदो असोज महिनाबाट सञ्चालनमा ल्याइने जानकारी दिए। यो हाटबजार बारा जिल्लाकै नमुना हाटबजार बन्ने उनको विश्वास छ।
नगरपालिकाका इन्जिनियर गणेश प्रसाद चौधरीका अनुसार, हाटबजारमा पर्खाल, अन्डर पास नाला, सडक स्तरोन्नति, इन्टरलक टायल र शौचालय निर्माणको काम पनि सम्पन्न भइसकेको छ। व्यवस्थित पार्किङ, विश्रामस्थल र मूल्यसूचीसहितको डिस्प्ले बोर्ड पनि राखिने उनले बताए।

















