४ भदौ,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले आफ्ना सामुदायिक विद्यालयका शिक्षकहरूलाई आफू कार्यरत विद्यालयबाहेक अन्य विद्यालयमा काम गरेको पाइएमा कारबाही गर्ने चेतावनी दिएको छ। महानगरले जारी गरेको एक सूचनामा शिक्षकहरूले विद्यालयमा अनियमित हुने गरेको र त्यसले पठनपाठनमा असर पुगेको भन्दै यस्तो निर्देशन दिएको हो।
महानगरको शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेले जारी गरेको सूचनामा शिक्षकहरूले विद्यालय व्यवस्थापन समिति र स्थानीय तहको स्वीकृति नलिई बाहिर काम गरेको पाइएको उल्लेख छ। यस प्रकारको कार्यले शिक्षाको गुणस्तर खस्किएको ठहर गर्दै महानगरले अबदेखि यस्ता गतिविधि नगर्न कडा निर्देशन दिएको छ।
उक्त सूचनामा शिक्षा नियमावली, २०५९ को नियम १३३ (ज) र वीरगञ्ज महानगरपालिकाको शिक्षा नियमावली, २०७४ को नियम १०४ (ज) अनुसार शिक्षकले पालना गर्नुपर्ने आचारसंहिताको पूर्ण पालना गर्न भनिएको छ। यी नियमहरूमा शिक्षकले आफ्नो विद्यालयबाहेक अन्यत्र काम गर्नका लागि स्वीकृति लिनुपर्ने प्रावधान रहेको छ।
महानगरले अब उप्रान्त यो नियमको उल्लंघन गर्ने शिक्षकहरूलाई प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने चेतावनीसमेत दिएको छ। यस कदमले सामुदायिक विद्यालयमा शिक्षकहरूको नियमित उपस्थित सुनिश्चित गरी पठनपाठनको गुणस्तरमा सुधार ल्याउने अपेक्षा गरिएको छ।















