Logo

९ भदौ,वीरगञ्ज ।वीरगञ्ज महानगर आसपास क्षेत्रमा फैलिएको झाडापखाला र हैजा नियन्त्रणका लागि गौर, रौतहटस्थित प्रादेशिक अस्पतालबाट चिकित्सकसहितको पाँच सदस्यीय स्वास्थ्यकर्मीको टोली वीरगञ्ज आइपुगेको छ। टोलीमा दुई जना चिकित्सक र तीन जना स्वास्थ्य सहायक (हेल्थ असिस्टेन्ट) रहेका छन्।

प्रादेशिक अस्पताल गौरका अध्यक्ष मोहम्मद अनवर हासमीका अनुसार, वीरगञ्जमा झाडापखाला र हैजाका बिरामी संख्या बढ्न थालेपछि आवश्यक स्वास्थ्य सहायता पु¥याउने उद्देश्यले टोली पठाइएको हो।
“चिकित्सक डा. परशुराम यादव र डा. विष्णुकुमार साहको नेतृत्वमा टोली नारायणी अस्पताल वीरगञ्जमा खटिएको छ,” हासमीले बताए, “उनीहरूले स्थानीय अस्पताल र स्वास्थ्य संस्थासँग समन्वय गरी संक्रमितहरूको उपचारमा सहयोग गर्नुहुनेछ।”

संक्रमितको संख्या बढ्दो

स्वास्थ्य कार्यालय पर्साका अनुसार, वीरगञ्जमा हालसम्म ७९ जना हैजाका बिरामी पुष्टि भइसकेका छन्। यस्तै, झाडापखालाजस्ता लक्षण देखिएका १०३ जना बिरामीहरू वीरगञ्जका विभिन्न अस्पतालहरूमा उपचारत छन्।

संक्रमण तीव्र रूपमा फैलिँदै गएपछि नारायणी अस्पताललगायत अन्य निजी अस्पतालहरूमा समेत बिरामीको चाप बढिरहेको छ। उपचारका लागि आवश्यक जनशक्ति र स्रोतसाधन व्यवस्थापन गर्न संघ, प्रदेश र स्थानीय तहबीच समन्वय भइरहेको छ।

वीरगञ्ज महानगरपालिका, स्वास्थ्य मन्त्रालय, र विभिन्न स्वास्थ्य संस्थाहरूको सहकार्यमा प्रभावित क्षेत्रहरूमा घरदैलो जनचेतना अभियान, सुरक्षित पानी आपूर्तिका लागि ‘पियुष’ वितरण, र दूषित पाइपलाइनहरूको मर्मतसम्भार भइरहेको छ।

गौरबाट आएको चिकित्सक टोलीले पनि संक्रमित क्षेत्रको अवलोकन, बिरामीको उपचार तथा महामारी नियन्त्रणमा प्रत्यक्ष सहयोग गर्ने महानगरका स्वास्थ्य शाखाले जनाएको छ।

 


सम्बन्धित समाचार