११ भदौ,वीरगञ्ज । पर्सा जिल्लामा हैजा संक्रमणको जोखिम बढ्दै गएको छ। वीरगञ्ज महानगरपालिकापछि अब पोखरी नगरपालिकामा पनि हैजा संक्रमण पुष्टि भएको छ।
अस्पताल स्रोतका अनुसार मंगलबार पोखरी नगरपालिकामा झाडापखलाका लक्षणसहित आएका तीन जना बिरामीमा हैजा संक्रमण देखिएको हो। संक्रमितहरूमा एक बालक र दुई जना पुरुष रहेका छन्। उनीहरू सबै हाल वीरगञ्जमा बसोबास गर्दै आएका व्यक्ति हुन् र केही दिनअघि मात्र पोखरी आएका थिए। तीमध्ये एक जनाको अवस्था गम्भीर भएकाले उनलाई थप उपचारका लागि वीरगञ्ज रिफर गरिएको अस्पतालले जनाएको छ।
संक्रमण दर बढ्दो
अस्पतालका अनुसार अहिले दैनिक सातभन्दा बढी झाडापखलाका बिरामी अस्पतालमा उपचारका लागि आइरहेका छन्। हैजाको संक्रमण वीरगञ्जमा अझै बढ्ने संकेत देखिएको छ।
मंगलबार साँझसम्म वीरगञ्जमा ११४ जनामा हैजा पुष्टि भइसकेको थियो। बुधबार बिहान १० बजेसम्म थप एक जनामा संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ११५ पुगेको वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य महाशाखाले जनाएको छ।
२२४ जना निको भएर घर फर्किए
महाशाखाले जारी गरेको पछिल्लो विवरण अनुसार हालसम्म २२७ जना झाडापखला तथा हैजा पीडित उपचारपछि निको भएर घर फर्किएका छन्।
शुक्रबारयता ४९३ जना झाडापखलाका बिरामी वीरगञ्जका विभिन्न अस्पतालमा भर्ना भएका छन्। तीमध्ये ३८ जना आईसीयूमा र ३ जना एचडीसीयू (High Dependency Care Unit) मा उपचाररत छन्।
सावधानी अपनाउन आग्रह
स्वास्थ्य अधिकारीहरूले हैजा र झाडापखलाबाट जोगिन सरसफाइमा विशेष ध्यान दिन आग्रह गरेका छन्। दूषित पानी तथा खाद्यपदार्थ सेवन नगर्न, उमालेको वा फिल्टर गरिएको पानी मात्र पिउन र झाडापखला वा वान्ता भएका लक्षण देखिएमा तुरुन्त अस्पताल जान अनुरोध गरिएको छ।

















