११ भदौ,वीरगञ्ज । वीरगञ्जमा फैलिएको हैजा संक्रमणको प्रभाव अब बाराको कलैया नगरमा पनि देखिन थालेको छ। हालै कलैया अस्पतालमा एक व्यक्तिमा हैजा संक्रमण पुष्टि भएपछि स्थानीय तह र स्वास्थ्य कार्यालयले उच्च सतर्कता अपनाएको छ।
जिल्ला स्वास्थ्य कार्यालय, बाराका प्रमुख रामनरेश यादवका अनुसार संक्रमित व्यक्ति कलैयाको भए पनि उनी वीरगञ्जमा काम गर्ने व्यक्ति हुन् र संक्रमण पनि त्यहीँबाट सरेको अनुमान गरिएको छ।
संक्रमण पुष्टि भएसँगै स्वास्थ्यकर्मीको टोलीलाई तुरुन्तै संक्रमितको घर र गाउँमा पठाइएको थियो। टोलीले अन्य व्यक्तिमा पनि लक्षण देखिएको छ कि भनेर निगरानी र जाँच गरेको छ। हालसम्म अन्यमा संक्रमण देखिएको छैन, प्रमुख यादवले जानकारी दिएका छन्।
पछिल्लो समय कलैयामा हैजाको हल्ला सामाजिक सञ्जाल र सञ्चारमाध्यमहरूमा व्यापक रूपमा फैलिएको छ। तर, जिल्ला स्वास्थ्य कार्यालयले जनतालाई आतंकित नहुन र सावधानी अपनाउन आग्रह गरेको छ।
प्रमुख यादवले भने, “कोही पनि डराउनु पर्दैन। आफू र परिवारको व्यक्तिगत सरसफाइमा ध्यान दिनुहोस्, नियमित रूपमा हात धुनुहोस्, सुरक्षित खानेपानी प्रयोग गर्नुहोस्। सावधानी नै सुरक्षा हो।”
सचेतना र उपचार दुबैमा सक्रियता
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार हैजा रोकथामका लागि सुरक्षित पानी र सरसफाइ नै सबैभन्दा प्रभावकारी उपाय हो। यसका लागि जनतालाई पानी उमालेर वा पियुष हालेर पिउन, सफा खाना खान र वातावरण सफा राख्न अनुरोध गरिएको छ।
स्वास्थ्यकर्मीहरू घर–घरमा गएर जनचेतना फैलाइरहेका छन्। साथै, कार्यालयले पर्याप्त औषधि, परीक्षण किट र स्वास्थ्य सामग्री स्टकमा राखेको जानकारी दिएको छ। बिरामीको निःशुल्क जाँच र उपचारको व्यवस्था पनि मिलाइएको छ।
संक्रमण बढेमा चार पालिका तयारी अवस्थामा
यदि संक्रमण दर बढेमा त्यसको व्यवस्थापनका लागि वीरगञ्जसँग सिमाना जोडिएका विश्रामपुर, पर्सौनी, फेटा र परवानीपुर जस्ता स्थानीय तहहरूलाई तयारी अवस्थामा राखिएको प्रमुख यादवले जानकारी दिएका छन्। स्वास्थ्य आपतकालीन अवस्था आउन नदिन समन्वय र पूर्वतयारीका काम भइरहेको छ।

















