१४ भदौ,चितवन । चितवनको भरतपुरमा गएराति भएको कार दुर्घटनामा एक जना चिकित्सकको ज्यान गएको छ।
प्राप्त जानकारी अनुसार, भरतपुर महानगरपालिका–१० स्थित विशालचोकबाट रमाइलो चोकतर्फ गइरहेको बा १५ च ४६९३ नम्बरको कार राति करीब १ः३० बजे अनियन्त्रित भई सडक किनारमा रहेको रुखमा ठोक्किँदा गम्भीर दुर्घटना भएको हो।
दुर्घटनामा परी भरतपुर–२, आँपटारी निवासी २९ वर्षीय डा. विप्लव भट्ट गम्भीर घाइते भएका थिए। उनलाई तुरुन्तै उपचारका लागि पुरानो मेडिकल कलेज लगिएको थियो तर उपचारका क्रममा राति २ बजे निधन भएको चितवन प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार, दुर्घटनाको समयमा कारमा उनी एक्लै सवार थिए र राति घर फर्कने क्रममा घटना भएको हो। डा. भट्ट यसअघि नारायणी सामुदायिक अस्पतालमा कार्यरत थिए, तर केही समययता उनी कुनै पनि स्वास्थ्य संस्थासँग आबद्ध थिएनन्।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

















