Logo

१५ भदौ,काठमाडौं । नेपालमा चालू आर्थिक वर्षको वैशाखदेखि भदौ १४ गतेसम्मको अवधिमा विभिन्न ३,२८१ वटा विपद्का घटना घटेका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती घटनामा परी २०७ जनाले ज्यान गुमाएका छन् भने २२ जना अझै बेपत्ता छन्। साथै, ७७४ जना घाइते भएका छन्।

प्राधिकरणको तथ्यांक अनुसार, यति अवधिमा पाँच हजार ९६३ परिवार प्रत्यक्ष प्रभावित भएका छन्। सबैभन्दा धेरै विपद्का घटनामा आगलागी अग्रस्थानमा रहेको छ। एक हजार १९७ वटा आगलागीका घटनामा १५ जनाको मृत्यु भएको छ भने १६५ जना घाइते भएका छन्।

बाढीका कारण २७ जनाको मृत्यु भएको छ, २२ जना बेपत्ता छन् र १० जना घाइते छन्। बाढीले एक हजार ७७८ परिवार प्रभावित पारेको छ। पहिरोका ३६८ घटनामा १८ जनाको ज्यान गएको, २८ जना घाइते भएको र ४८१ परिवार विस्थापित भएका छन्।

भारी वर्षाका २६६ घटनामा ६ जनाको मृत्यु र १२ जना घाइते भएको जनाइएको छ। चट्याङका २५८ घटनामा ३१ जनाको मृत्यु, १९३ जना घाइते र ३१७ घरपरिवार प्रभावित भएका छन्।

सर्पदंशका २६८ घटनामा ७२ जनाको मृत्यु भएको छ भने २०२ जना घाइते भएका छन्। वन डढेलोका १५८ घटनामा २ जना घाइते र २७ परिवार प्रभावित भएका छन्। हुरीबतासका २८० घटनामा ८ जनाको ज्यान गएको र ४१ जना घाइते भएका छन्। यसबाट ५३६ घरपरिवार प्रभावित भएका छन्।

यस्तै, जनावर आक्रमणमा १५ जनाले ज्यान गुमाएका छन्। लेक लागेर ४९, भूकम्पमा ५, डुङ्गा पल्टिँदा २ तथा असिना र महामारीका कारण १÷१ जनाको मृत्यु भएको छ।

प्राधिकरणले बढ्दो विपद् जोखिमप्रति सतर्क रहन आम नागरिकलाई आग्रह गर्दै आवश्यक पूर्वतयारी एवं सावधानी अपनाउन पनि अनुरोध गरेको छ।


सम्बन्धित समाचार
भर्खरै