Logo

२१ फागुन,वीरगञ्ज । ‘होली’ अर्थात फागु पर्व होली आउन दुई दिन मात्रै छ । फागुको रोमाञ्चकता तथा उत्साहपूर्ण पर्खाइ भने पछिल्ला वर्षमा कम हुँदै गएको छ ।

तराई मधेसमा फागुको स्वागतमा हार्मोनियमको मिठो राग, लय र मृदङ्गको तालमा जम्ने जोगिराको रमझम देखिन छाडेको छ । श्रीपञ्चमी (वसन्तपञ्चमी) सँगै अबेर रातिसम्म गुञ्जने जोगिरा (फागुविशेष गीत) तराई÷मधेसका जिल्लामा सुन्न छाडिएका छन् । श्रीपञ्चमी पर्व (माघ शुक्ल पञ्चमी) मा वसन्त उत्सव सुरु गरिएसँगै मृदङ्ग, हारमोनियम र डम्फू (जोगिराका वाद्यवादन)का तालमा प्रत्येक रात तराई÷मधेसका बस्ती–बस्तीमा गाइने जोगिरा (फागुन उत्सवमा गाइने गीत) पछिल्ला दुई दशकयता कम सुनिन थालेको स्थानीयले बताएका छन् ।

तराई÷मधेसका बस्ती÷बस्तीमा टोलैपिच्छे घरदलानमा गबैया (गायक)का समूहले गाउने जोगिराले दिने फागु पर्व नजिकिएको सन्देश अब सुन्न छाडिएकोमा यहाँका बुढापाकाको चिन्ता छ । एउटा बस्तीका गवैया एक ठाउँ भेला भएर सामूहिक रुपमा गाइने जोगिराले होरी (फागु) को सन्देश दिन र उमङ्गित बनाउने विषय अब कथामा मात्रै भएको हो ।

भक्ति, ख्यालठट्टा, प्रेमयुक्त र रस मिसिएका शब्दावलीको संयोजनका जोगिरा (फागु गीत) सुन्न छाडिएपछि फागुपर्वको रौनक हराउँदै गएको सामाजिक अगुवाहरु बताउँछन् । नेपाल भोजपुरी समाज पर्साका अध्यक्ष ध्रुवसिंह ठकुरीले नयाँ पुस्ताले यो संस्कृतिबारे चासो नदिएपछि परम्परा लोप हुने अवस्थामा पुगेको बताउनुभयो ।

खुशीयालीका नाममा होलीको दिन माछा मासु, रक्सी खाने अश्लील गीत लगाएर डिजे बजाउने क्रम पछिल्ला दिनमा बढेको प्रति उहाँको चिन्ता छ । आपसी सद्भाव, भातृत्व र उमङ्गको प्रतीक मानिने फागु (होली) पर्वमा हास–परिहास, ठट्टा गरिनेबीच गीतबाटै गरिने छेडखानी, प्रेमयुक्त भाव र रसको संयुक्त प्रतिबिम्ब हुने जोगिरा सुन्न छाडिएपछि यो पर्व आउँदै गरेको छनक नै हुन छाडेको सँस्कृति विदहरु बताउँछन् ।

 


सम्बन्धित समाचार