१५ भदौ, काठमाडौं । रुपन्देही–३ को उपनिर्वाचनमा उम्मेदवार बन्न चाहने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का आकांक्षीहरूले पार्टीको उम्मेदवार घोषणा हुनुअघि नै पार्टी सभापति रवि लामिछानेलाई भेट्न नख्खु कारागार पुगेका छन् ।
सहकारी ठगी प्रकरणमा थुनामा रहेका लामिछानेलाई हालै मात्र भैरहवाबाट नख्खु कारागार सारिएको थियो । रास्वपाले आजै आफ्नो सचिवालयको बैठकबाट उम्मेदवारको नाम घोषणा गर्ने तयारी गरेको छ, र यो घोषणाअघि नै आकांक्षीहरूले लामिछानेलाई भेटेर आफ्नो पक्षमा माहोल बनाउन खोजेको देखिन्छ ।
रुपन्देही–३ मा रास्वपाबाट उम्मेदवार बन्नका लागि ९ जनाले आवेदन दिएका थिए । यी मध्येबाट आज एक जनाले उपनिर्वाचनको टिकट पाउनेछन् । उम्मेदवारीको दौडमा रहेकाहरूमा केन्द्रीय सदस्य कुसुम महर्जन, रुपन्देही–३ का क्षेत्रीय सभापति मधु अर्याल, हालै अमेरिकाबाट फर्किएका सुलभ खरेल, र अन्य छ जना आकांक्षीहरू छन् । यो उपनिर्वाचन कार्तिक १७ गते हुनेछ। राप्रपाका तत्कालीन सांसद दीपक बोहराको निधनपछि यो सिट खाली छ।















