Logo

१५ भदौ, काठमाडौं । रौतहटको कटहरियामा एउटा निर्दोष परिवारमाथि बज्रपात आइलागेको छ।

मोबाइल चोरीको झूटो आरोपमा निर्मम कुटपिट गरिएका २८ वर्षीय दलित युवा नसिव बैठा को मृत्यु भएको छ, जसले गर्दा उनका चार साना छोराको भविष्य अनिश्चित बनेको छ। यो हृदयविदारक घटना साउन १६ र १७ गतेको हो। खाजा पसलमा मोबाइल हराएको भन्दै केही स्थानीय युवाहरूले नसिवलाई निर्घात कुटपिट गरे। झन् त्यसको भोलिपल्ट त उनलाई आँपको बगैँचामा रूखमा उल्टो झुन्ड्याएर बेल्ट र साइकलको चेनले अमानवीय रूपमा कुटपिट गरियो। उनीहरूले मोबाइल चोरेको ‘स्वीकार’ गर्न दबाब दिए, जबकि पछि प्रहरीको रोहबरमा मोबाइल घरमै फेला परेको थियो ।

कुटपिटपछि नसिवलाई प्रहरीले उद्धार त गर्यो, तर कुटपिटको असरले उनको शरीरमा आन्तरिक चोट लागेको थियो। उनको पेट र छातीमा असह्य पीडा सुरु भयो। यही बीचमा उनको बुबाको पनि निधन भयो। बुबाको काजकिरियापछि मात्रै नसिवलाई उपचारका लागि अस्पताल लगियो। तर, लामो समयको उपचारपछि पनि उनलाई बचाउन सकिएन, र भदौ ११ गते वीरगञ्जमा उनको मृत्यु भयो ।

नसिवका भाइ दर्शन बैठाले यो घटना गरिब र दलित भएकै कारणले भएको दाबी गरेका छन्। ‘मेरो दाइमाथि झूटो आरोप लगाएर हत्या गरियो । उनले भने, ‘अहिले नसिवका ७ वर्षीय जेठा छोरा विशालले बुबाको किरिया गरिरहेका छन्, जबकी उनीसँगै अन्य तीन साना भाइहरूको हेरचाह गर्ने कोही छैन ।

यो घटनामा संलग्न चार जनामध्ये एक जना पक्राउ परेका छन् भने अन्य तीन जना फरार छन्। नसिवकी पत्नी गीताले रुँदै भनेकी छिन्, ‘दोषीमाथि कडाभन्दा कडा कारबाही होस् र हामीले न्याय पाऔं।’ उनको यो आवाजले एउटा पीडित परिवारको दुःख मात्रै होइन, समाजमा अझै पनि रहेको जातीय विभेद र क्रूरताको अँध्यारो पाटोलाई पनि उजागर गरेको छ।


सम्बन्धित समाचार