५ भदौ, काठमाडौं । सीमा क्षेत्रमा हुने तस्करी र राजस्व छली नियन्त्रणमा लापरबाही गरेको आरोपमा सशस्त्र प्रहरी बलले एकैपटक एकजना एसपीसहित १६ जना अधिकृतलाई जिम्मेवारीबाट हटाएको छ।
सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार, उनीहरूको कार्यसम्पादन र राजस्व संकलनमा कमजोरी देखिएपछि यो कदम चालिएको हो । यसरी जिम्मेवारीबाट हटाइएकाहरूमा रौतहट, बारा, पर्सा, नवलपरासी, कैलाली र कञ्चनपुर जस्ता सीमावर्ती जिल्लामा खटिएका कमान्डरहरू छन् । हटाउनेहरूमा एक जना सशस्त्र प्रहरी उपरीक्षक (एसपी) र एक जना नायब उपरीक्षक (डीएसपी) सहित सात जना निरीक्षक (इन्सपेक्टर) , ६ जना नायब निरीक्षक (सई) र एक जना सहायक निरीक्षक (असई) रहेका छन् ।
रौतहटका सशस्त्र प्रहरी उपरीक्षक सन्तोष कुमार बस्नेतलाई फिर्ता बोलाएर उनको स्थानमा रामहरी अधिकारीलाई पठाइएको छ। यसैगरी, बाराको कबहीगोठ, पर्साको प्रसौनी भाठ्ठा, पश्चिम नवलपरासीको भुजहवा र कैलालीको कुसुमघाटलगायतका विभिन्न बोर्डर आउट पोस्ट (बीओपी) मा खटिएका कमान्डरहरूलाई पनि हटाइएको छ।
सशस्त्र प्रहरी मुख्यालयले सीमा इलाकाका कमान्डरहरूमाथि सुक्ष्म रूपमा निगरानी बढाइएको र सन्तोषजनक काम नगर्ने जो कोहीलाई पनि कारबाहीको दायरामा ल्याइने बताएको छ। यसअघि पनि दर्जनौं अधिकृतहरूलाई समय नपुग्दै जिम्मेवारीबाट हटाइएको थियो। यो कदमले सशस्त्र प्रहरीभित्र सीमा सुरक्षा र राजस्व संकलनमा कडाइ गर्न खोजिएको सङ्केत गर्छ।















