१५ भदौ, जनकपुरधाम। जनकपुरमा दुई समुदायबीचको विवादले झडपको रूप लिएपछि प्रहरीले गोली चलाउँदा एकजना घाइते भएका छन्। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ३० राउन्ड हवाई फायर र ३१ सेल अश्रुग्यास प्रहार गरेको खुलेको छ।
जनकपुरधाम उपमहानगरपालिका–२०, देवपुरा रुपैठास्थित झण्डा चोकमा टावरलाइटको पोलमा बाँधिएको हरियो झण्डा हटाउने विषयमा आइतबार प्रहरी र स्थानीय हिन्दू समुदायबीच झडप भएको थियो। प्रहरी उपरीक्षक नरहरि रेग्मीले दिएको जानकारीअनुसार १४ डमी गोली र ११ राउन्ड पेस्तोलबाट गोली प्रहार गरिएको थियो।
प्रहरीको गोली लागेर स्थानीय २९ वर्षीय लक्ष्मण मुखिया गम्भीर घाइते भएका छन्। उनको दुवै घुँडामा गोली लागेको छ र प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ।
यसैगरी, झडपमा ढुंगामुढाबाट सातजना प्रहरी र केही सर्वसाधारण पनि घाइते भएका छन्। घाइते प्रहरीको सोही अस्पतालमा उपचार भइरहेको छ।
यो विवाद शनिबार गणेश पूजाको मूर्ति विसर्जन गर्न लैजाने क्रममा सुरु भएको थियो। प्रहरी प्रवक्ता डीएसपी वरुणबहादुर सिंहका अनुसार, आज दुवै पक्षका भलादमी र प्रहरी प्रशासनबीच झण्डा हटाउने सहमति भए पनि सोही क्रममा स्थिति तनावग्रस्त बनेपछि प्रहरीले गोली र अश्रुग्यास प्रहार गरेको थियो।

















