१६ भदौ, काठमाडौं । अफगानिस्तानको पूर्वी क्षेत्रमा गएको शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको संख्या ६१० पुगेको छ ।
अफगानिस्तानको गृह मन्त्रालयले दिएको जानकारीअनुसार, यो विनाशकारी भूकम्पमा १,३०० भन्दा बढी मानिस घाइते भएका छन् । आइतबार राति ११ः४७ बजे नान्गारहार र कुनार प्रान्तमा ६ म्याग्निच्युडको भूकम्प गएको थियो । यसको केन्द्रबिन्दु जमिनको ८ किलोमिटर तल रहेको थियो । भूकम्पपछि ४ दशमलव ५ देखि ५ दशमलव २ म्याग्निच्युडका तीनवटा परकम्पहरू गएका थिए। भूकम्पको धक्का अफगानिस्तानको राजधानी काबुल र पाकिस्तानको इस्लामाबादसम्म महसुस गरिएको थियो ।
सबैभन्दा बढी क्षति कुनार प्रान्तमा भएको छ, जहाँको भौगोलिक बनावटका कारण उद्धार कार्यमा बाधा पुगेको छ। पहाडी भूभाग र पहिरोले गर्दा त्यहाँका धेरै सडकहरू अवरुद्ध भएका छन् । तालिबान सरकारले उद्धार र राहतका लागि सीमित स्रोतसाधन भएको भन्दै अन्तर्राष्ट्रिय समुदायसँग हेलिकप्टर र अन्य सहायताका लागि आग्रह गरेको छ।















