१६ भदौ, कञ्चनपुर। आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण कञ्चनपुरका विभिन्न स्थानमा बाढीले ठूलो क्षति पुर्याएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार, भीमदत्त र दोधारा चाँदनी नगरपालिकाका गरी ४५ घर डुबानमा परेका छन् । प्रहरी नायब उपरीक्षक सागर बोहराले दिएको जानकारीअनुसार, दोधारा चाँदनी नगरपालिका–८ को रामपुरे टोल र जर्गा टोलमा जोगबुढा नदीको बाढी पस्दा २५ घर डुबानमा परेका छन् । यसबाट प्रभावित ७० जनालाई नजिकैको विद्यालयमा सारिएको छ । यस्तै, दोधारा चाँदनी(३ को पटराखल्लामा पनि बाढी पसेर १५ घर डुबेका छन् भने भीमदत्त नगरपालिका–११ को भुजेलामा पनि पाँच घर डुबानमा परेका छन् । प्रहरीले बाढी प्रभावित परिवार र उनीहरूका चौपायालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको जनाएको छ।
महाकाली नदीको जलस्तर बढ्दा आवागमन प्रभावित
अविरल वर्षाले महाकाली नदीको जलस्तर पनि बढेको छ। नदीमा पानीको सतह १ लाख ४० हजार २५० क्युसेक पुगेपछि भारतीय पक्षले शारदा ब्यारेजमा चारपाङ्ग्रे र तीनपाङ्ग्रे सवारीसाधनको आवागमनमा रोक लगाएको छ। महाकालीमा पानीको बहाव १ लाख क्युसेक नाघेपछि भारतीय पक्षले आवागमन रोक्दै आएको छ। यसले सीमा वारपार गर्ने यात्रुहरूलाई असुविधा भएको छ।















