Logo

१८ भदौ,वीरगञ्ज । खानेपानी मन्त्री प्रदीप यादवसँगको टेलिफोन संवादको अडियो सार्वजनिक भएपछि पक्राउ परेकी किरण साहको हिरासत अवधि थपिएको छ। जिल्ला अदालत पर्साले अनुसन्धानका लागि उनलाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो।

पर्सा प्रहरीका प्रवक्ता डीएसपी किशोर लम्सालले अनुसन्धानका लागि हिरासत म्याद थप गरिएको जानकारी दिएका छन्। साहविरुद्ध विद्युतीय अपराध, ज्यान मार्ने धम्की र झुटो प्रचार गरेको आरोपमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

मन्त्रीका स्वकीय अधिकृतको जाहेरीमा पक्राउ

किरण साहलाई शनिबार मन्त्री प्रदीप यादवका स्वकीय अधिकृत हरिन्द्र साहको जाहेरीका आधारमा प्रहरीले पक्राउ गरेको हो। बाराको कलैया घर भई हाल वीरगञ्जको मुर्लीमा बस्दै आएकी साह सामाजिक सञ्जालमा सक्रिय छन्।

’म तपाईंलाई छोड्दिनँ’ : अडियो सार्वजनिक भएपछि विवाद

गत शुक्रबार राति सामाजिक सञ्जालमा मन्त्री यादव र किरण साहबीचको टेलिफोन संवादको अडियो सार्वजनिक भएपछि यो विषय चर्चाको केन्द्रमा आएको हो। अडियोमा किरण साहले वीरगञ्जमा फैलिएको हैजा र दूषित खानेपानीका विषयमा मन्त्रीलाई प्रश्न गरेकी छिन्। उनले आफ्ना परिवारका सदस्य हैजाका कारण अस्पतालमा भर्ना भएको भन्दै पटकपटक सम्पर्क गर्दा मन्त्रीले फोन नउठाएकोमा आक्रोश पोख्दै ‘म तपाईंलाई छोड्दिनँ’ भन्ने अभिव्यक्ति दिएकी थिइन्।

विवादसँगै बहस पनि चर्कियो

यो घटनाले अभिव्यक्ति स्वतन्त्रता र जनप्रतिनिधिसँग नागरिकको संवाद अधिकारबारे बहस चर्काएको छ। एकातर्फ नागरिकहरू जनप्रतिनिधिलाई जवाफदेही बनाउन खोज्दा कानुनी कारबाहीको डर देखिएको भन्दै चिन्ता व्यक्त गरिरहेका छन्। अर्कोतर्फ मन्त्री यादवका समर्थकहरूले किरण साहमाथि कारबाहीको माग राख्दै सोमबार जिल्ला प्रहरी कार्यालय पर्साको गेटअगाडि प्रदर्शन गरेका थिए।

प्रहरीका अनुसार साहविरुद्धको अनुसन्धान जारी छ र प्रमाणका आधारमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइनेछ।


सम्बन्धित समाचार