१८ भदौ, काठमाडौं । चीनको ८० औं विजय दिवसको अवसरमा भएको सैन्य परेडमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाका नेता किम जोङ उन सहभागी भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनीहरूमाथि गम्भीर आरोप लगाएका छन् ।
ट्रम्पले सामाजिक सञ्जालमा पोस्ट गर्दै पुटिन र किम दुवैले अमेरिकाविरुद्ध षड्यन्त्र गरिरहेको आरोप लगाएका हुन् । उनले परेडमा सहभागी दुई नेतालाई व्यंग्यात्मक रूपमा ‘न्यानो अभिवादन’ समेत पठाएका छन् । यसका साथै, ट्रम्पले चीनको स्वतन्त्रताका लागि अमेरिकाले गरेको सहयोग र रगतको बलिदानबारे चिनियाँ राष्ट्रपति सी जिनपिङले सम्बोधन गर्ने आशा व्यक्त गरेका छन् । उनले थपेका छन्, चीनको जितका लागि धेरै अमेरिकीले ज्यान गुमाए। मलाई आशा छ उनीहरूको बहादुरी र बलिदानको सम्मान गरिनेछ।’















