१८ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न आज ५० अर्ब रुपैयाँ खिच्ने भएको छ।
यो कदम अन्तरबैंक ब्याजदरलाई थप घट्न नदिन र बजार सन्तुलित राख्नका लागि चालिएको हो । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरूबाट २५ दिन अवधिको निक्षेप संकलन उपकरण प्रयोग गरी उक्त रकम उठाउन लागेको छ। बैंकहरूले आफ्नो तरलताको अवस्था हेरी केन्द्रीय बैंकलाई रकम दिनेछन् ।
हाल वित्तीय प्रणालीमा करिब ५७ अर्ब रुपैयाँ अधिक तरलता रहेको छ भने केन्द्रीय बैंकसँगको स्थायी निक्षेपमा ६ खर्ब ३६ अर्ब रुपैयाँ थुप्रिएको छ । बिहीबार २ खर्ब ३७ अर्ब रुपैयाँ बराबरको स्थायी निक्षेप परिपक्व हुँदैछ, जसले बजारमा थप तरलता सिर्जना गर्नेछ। यही अवस्थालाई मध्यनजर गर्दै राष्ट्र बैंकले आज निक्षेप संकलन गर्न लागेको हो। यसले वित्तीय प्रणालीमा ब्याजदरको स्थिरता कायम राख्न मद्दत गर्ने विश्वास गरिएको छ ।















